काठमाडौं। एक वर्षमा कोरोना सङ्क्रमणबाट ४२५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार एक वर्षमा (सन् २०२२) मा ४२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।
मन्त्रालयको तथ्यांकअनुसार सन् २०२२ जनवरीको पहिलो दिनसम्म ११ हजार ५९४ जनाको मृत्युभएको थियो। सोपछि एक वर्षमा ४२५ जना मृतक थपिएसँगै सङ्क्रमणबाट १२ हजार १९ ले ज्यान गुमाएका छन्। त्यसैगरी, एक वर्षमा दुई लाख २८ हजार ५८३ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५३ हजार २१९ पुगेको छ।
२०२२ मा नेपालमा ओमिक्रोनको सबभेरिएन्ट ‘बि’ फोर र ‘बि’ फाइफ र डेल्टा भेरिएन्ट फैलिएको थियो। सोही समय कोरोना तेस्रो लहरको रुपमा उच्च विन्दुमा पुगेको थियो। यो वर्ष संक्रमण दर उच्च रहेको भए पनि विगतको तुलनामा अस्पतालमा भर्ना हुने दर र मृत्युदरमा कमीआएको डा.अधिकारीको भनाइ छ।
कोरोना संक्रमणको हिसाबले उतारचढाव आए पनि अस्पतालका पूर्वधार विकास र कोरोना विरुद्धको खोपको कभरेज बढाएको डा.अधिकारीको भनाइ छ। उहाँले भन्नुभयो, “सन् २०२२ मा कोरोनाबाट अस्पतालमा भर्ना हुने दर र मृत्युदरमा कमी आएको छ । यसको प्रमुख कारण सरकारले सबै जनतामा खोप पहुँच बढाएको छ।”
तीन करोड बढी मात्रा खोप
सन् २०२२ मा सरकारले तीन करोड २४ लाख ५० हजार ४६६ मात्रो खोप लगाएको तथ्यांक छ। यो सँगै मन्त्रालयले खोप अभियान सुरु भएदेखि अहिलेसम्म पाँच करोड ३५ लाख छ हजार २०७ मात्रा खोप लगाइसकेको छ। जसमा कुल जनसंख्याको ७९.५ प्रतिशतले एक मात्रा र ७६.५ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।
१२ वर्षमाथिका लक्षित जनसंख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । ७९ लाख ७२ हजार ७९१ जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ।
कोरोना जोखिम कायमै
नेपालमा सोमबार २४ घण्टामा ९६० को एन्टिजेन र पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको छ । सक्रीय संक्रमितको संख्या २२ रहेको छ। नेपालमा कोरोना सङ्क्रमण जोखिम कम हुँदै गए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो।
छिमेकी राष्ट्रहरु चीन र भारतमा ओमिक्रोनको सबभेरिएन्ट बिएफ ७ तिव्र गतिमा फैलिएसँगै नेपालमा पनि पुनः कोरोना संक्रमण फैलन डर बढ्दैगएको छ । नेपालमा हालसम्म यो भेरिएन्ट नफैलिए पनि खुला सीमा नाकाका कारण नेपालमा कुनै पनि समय भित्रिने जोखिम रहेको चिकित्सकको भनाइ छ।
भित्रिन नदिन कस्तो छ तयारी ?
मन्त्रालयले पछिल्लो एक महिनामा देशभरबाट ४८ वटा नमूनाहरुको जीन सिक्वासिङ गर्दा ओमिक्रानेका १७ वटा सबभेरिएन्ट पुष्टि भएको थियो। हालसम्म नेपालमा ओमिक्रोनको सब भेरिएन्ट बिएफ ७ पुष्टि भएको छैन। खुला सीमानाबाट मानिसको आवत–जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम हुँदा यसको रोकथाम, नियन्त्रणका लागि सजक र सचेत रहन आग्रह गरेको छ।
कोभिड १९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुहरुको ज्वरो नाप गर्ने, शंकास्पद व्यक्तिहरुको एन्टिजेन टेष्ट र जिन सिक्वेन्सीङ गर्ने कार्य भएको डा.अधिकारीले बताउनुभयो।
यो भेरिएन्टलाई नजिकबाट अनुगमन गरेको पनि डा.अधिकारीले जानकारी दिनुभयो।
अब महामारी फैलिहाले पनि महामारीको समयमा व्यवस्थापन गरेका अस्पतालका पूर्वाधार, स्वास्थ्यकर्मी सबैलाई व्यवस्थापन गर्दै अगाडि बढ्न गाह्रो नभएको डा. अधिकारीको भनाइ छ।
खोप कार्यक्रम सबैको पहुँच बनाउन सरकारले थप खोप ल्याएर खोप लगाउने काम अघि बढाएको छ । बुस्टर डोज पनि प्राथमिकताका साथ लगाइरहकाले सबैलाई खोप लगाउन उहाँले आग्रह गर्नुभयो।
बिएफ ७ कस्तो भेरिएन्ट हो ?
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसले आफ्नो स्वरुप बद्लिरहने भएकाले यो भेरिएन्टबारे सबैको चासो छ । उहाँले भन्नुभयो, “चीनमा शून्यमा झरेको कोरोना संक्रमण पुनः बढ्नुमा स्पष्ट कारण आइसकेको छैन। यो भेरिएन्ट कुन रुपमा फैलिएको छ भन्ने अध्ययन भइरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि यो भेरिएन्टलाई अध्ययनमा राखेको छ।”
धेरै नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेकोले यो भेरिएन्ट फैलिहाले पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको डा. पुनको भनाइ छ। उहाँले भन्नुभयो, “धेरैले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ। त्यसैले नेपालमा फैलिहाले पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन, तर सचेत भएर जनस्वास्थ्यका मापदण्ड भने अपनाउनुपर्छ।”
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार यो भेरिएन्ट आउँछ भनेर डराइहाल्नुपर्ने अवस्था छैन।
उहाँले भन्नुभयो, “सरकारले संक्रमित भएकाहरुको उचित उपचारको व्यवस्थापनमा ध्यान दिनुपर्छ। त्यस विषयमा अहिलेदेखि नै अध्ययन गरेर योजना बनाउनुपर्छ।” त्यसका साथै जिन सिक्वेन्सीङ गरी कोरोना कुन रुपमा फैलिएको छ भनेर अध्ययन गरी नाकाहरुमा परीक्षणको दायरा बढाउनु पर्ने उहाँको सुझाव छ।
बच्न के गर्ने ?
अन्य कोरोनाका सबभेरिएन्टजस्तै यसले पनि वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा बढी जोखिम रहेकाले सचेत रहन डा. पुनको सुझाव छ। घाँटी दुख्ने टाउको दुख्ने, नाकबाट पानी बग्ने, नाक बन्द हुने जिउ दुख्नेजस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ।
त्यसका अलावा कोभिड संक्रमणबाट बच्च र बचाउन माक्सको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, वा सेनिटाइजर नियमित प्रयोग गर्ने, जनस्वास्थ्यका मापदण्डहरु नियमित पालन गर्न गराउन चिकिकत्सहरुले आग्रह गर्नुभएको छ।
साभार : गोरखापत्र अनलाइन