
लक्ष्य नै सैनिक व्यक्ति बन्छु भन्ने थिएन मेरो । देशमा रोजगारीको अभाव भएका कारण भर्ति भैहालौं कि भन्ने सोच आउँथ्यो बेलाबेला । चार वर्ष अगाडी नै मेरो दाई सेनामा भर्ती भैसक्नुनुभएको थियो । सेनामा हुने दुःख सुखका कुरा सुनाउनुहुन्थ्यो घरमा आएको बेलामा । अरुले दाईलाई लाहुरे भनेर बोलाउँदा मेरो मनमा पनि एक किसिमको आनन्द आउँथ्यो। दाईको चाहाना थियो मलाई जतिसक्यो धेरै पढाएर राम्रो जागिर खुवाउने । ममि भन्नुहुन्थ्यो “दाई घरबाट टाढा गैसक्यो कहिलेकाहीं पाहुना जस्तो भएर आउँछ घरमा । तैले सकिसभने मास्टर भएर घर नजिकैतिर पढाउनु।” भनेर सुनाउनुहुन्थ्यो । दाईले पनि फोर्स लाईनतिरको जागिर खान नआउनु दुःख धेरै हुन्छ भन्नुहुन्थ्यो। मैले ममिले चाहे जस्तो गरिन । न त दाईले भनेको नै माने । १२ कक्षाको पढाई सकिसकेपछि बाँकी पढाईको लागि सुर्खेत झरें। वि.एड. मा भर्ना भएँ । त्यसै बिचमा शिक्षक लाइसेन्स पनि पास गरें। हातमा लाइसेन्स आएपछि सोचें म साँच्चिकै शिक्षक बन्ने कि जागिर जस्तोसुकै होस् छिटो जे सकिन्छ त्यहि खाने भन्ने दोधारमा परें । म सँगैका धेरै साथिहरुले अलि अगाडि नै सेना प्रहरीको जागिर खाईसकेका थिए । कोही पढ्दै थिए। कोही भने रोजगारीको लागि अन्य मुलुकमा गैसकेका थिए। गाउँ छोडेर बजारमा बस्न थालेपछी लगभग एक्लो जस्तै भईयो । आफैले खाना पकाउने, खाने अनि पढ्न जाने । दिनचर्या यस्तै बित्दै थिए । त्यतिबेला नै सुर्खेत पृतनामा सैन्य को लागि भर्ना खुल्यो । घरमा र अरू साथिहरूलाई समेत थाहै नदिई फर्म भरें ।
अघिल्ला चरणका परिक्षाहरू पास गरिसकेर लिखित परिक्षा को रिजल्ट आएपछी घरपरिवार, साथिसंगी सबैलाई थाहा भयो। मेडिकल र अन्तवार्ता पनि पास भएँ। अन्तिम चरणमा समेत नाम निस्कीयो। अझैसम्म पनि म दोधारमा थिएँ ‘जागिर साँच्चै खाने कि नखाने ‘ यस बिचमा धेरैको सल्लाह पनि लिए । धेरैले “तिमि जत्तिको मान्छे मेहनत गरेउभने अरू राम्रो जागिर खान सक्छौ । नजाँदा पनि हुन्छ । तिमी बाहिर जत्तिकै प्रगति त्यहाँ गर्न सक्दैनौ ।” भन्न थाले । कतिपयले “सानो ठूलो जे भएपनि स्थायी जागिर हो। भोली त्यहाँबाट पनि राम्रो ठाउँमा जान सकिन्छ । फेरी त्यो भन्दा राम्रो जागिर पाइन्छ भन्ने ग्यारेण्टि पनि त छैन ।” भनेपछि मलाई पनि साँच्चिकै हो जस्तो लाग्यो तरपनि मन दोधारमै जस्तो थियो। “यदि सुर्खेतमै तालिम परेपछी चाहिँ जान्छु टाढा तालिम गर्न चाहिँ जान्न “सोचेको थिएँ मैले । म क्लबको कार्यक्रमले काठमाण्डौँ बाट घर फर्कदै थिएँ तालिमको सुचना आएको खबर पाएँ । मैले सोचेजस्तै मेरो ९ महिनाको सैन्य आधार तालिम सुर्खेतको कपासेमै हुने भएछ। कपासेमा श्री कालीबहादूर गण थियो।
तालिममा जाने दिन पनि आयो । घरबाट ममिले टिका लगाएर बिदाई गरीदिनुभयो। आमाको मन टपक्क आँसु खसालिहाल्नुभयो मैले मन दरो बनाएर हिंडे । पल्टन घरभित्र पस्दा कस्तो नौलो अनुभूति भयो । त्यहाँको चालचलन, बोलिभाषा, व्यवहार एकदमै नयाँ महशुस भयो। हामि तालिम सुरु हुनुभन्दा दुई हप्ता अगाडि (२०८०/०४/२१ गते) पल्टनमा गएका थियौं। त्यहाँ तालिम गर्न म सहित जम्मा १०५ जना थियौं। सबैका नयाँ अनुहार, विस्तारै एक आपसमा चिरपरिचित भयौं । त्यतिबेला नै मेरो क्याम्पसको परिक्षा थियो । तालिमको बेलामा कहिँ कतै जान पाईंदैन भन्ने सुनेको थिएँ । तर पनि एकपटक सोध्छु, यदि साँच्चिकै नपाइने नै रहेछ भने भागेर भएपनि जान्छु परिक्षा दिन पढाई चाहिं छोड्दीन ।” भन्ने सोचमा थिएँ। साँझमा सबैजना सामेल भएर आज दिनभरी भएका क्रियाकलाप र भोली हुने कार्यक्रमहरुको बारेमा ब्रिफिङ हुन्थ्यो। एकदिन त्यहि मौकामा मैले मेरो समस्या राखें । हाम्रो तालिम को हवल्दार मेजरले “माथिल्लो कमाण्डरलाई सोधेर खबर गर्छु” भनेपछि म थोरै आशावादि भएँ । भोलिपल्ट मलाई परिक्षा दिन जाने तर फर्केर पल्टनमै आउने भन्ने आदेश भएछ । मसँग एकजना गुरुजी क्याम्पस सम्म पुर्याउने र परिक्षा सकिएपछी सँगै लिएर पल्टनमा आउनुहुन्थ्यो । वर्षा को मौसम त्यसैमा आँखा पाक्ने रोग फैलियो । म पनि त्यस रोगबाट अछुत रहन सकिन । मेरो आँखा पाकेपछी म सहित धेरैजना साथीहरू आईसोलेसनमा बस्यौं । आँखाको उपचार गर्यौं र निको भएपछी पहिलेकै ठाउँमा सर्यौं। निको भैसकेपछिपनी केही दिन सम्म आँखामा कालो चस्मा लगाईरहनुपर्थ्यो । साँझमा सँधै रोल्कल परेड भैरहन्थ्यो ।
गुरुजीहरुले तालिममा हुने कठिनाई सैनिक अनुशासन जस्ता विभिन्न कुराहरु सुनाउनुहुन्थ्यो । “तालिम छोडेर जान नहुने र यदि गर्न मन नभए तालिम सुरु हुनुभन्दा अगाडि नै जान सक्छ।” भन्ने कुरा सुनाउनुहुन्थ्यो। मलाई मनमा डर लाग्थ्यो “यदि तालिमले बिचमा गाह्रो अफ्ठेरो भएर भाग्नुभन्दा अहिले नै जान उचित होला।” यहि सोचेर एकपटक दाईलाई सोधें दाईले “पल्टनमा गएर फर्केर आउनु ठिक हुँदैन, तालिम पुरा गर पछि आफ्नो बिचार गर्नु” भनेपछि तालिम गर्नुनै पर्ने भयो।
२०८० साल भाद्र ३ गतेका दिन तालिमको विधिवत रुपमा सुरुवात भयो । मनमा लाग्थ्यो “यो नौ महिना कसरी विताउने होला ?” तालिमका दिनहरू वित्दै थिए। सेनामा गाह्रो त हुन्छ नै त्यसैमा भर्खरै प्रवेश गरेको व्यक्तिको लागि सहज त पक्कै थिएन । दैनिक हुने पिटी परेडले शरिर दुखाउंदा साँझमा साथिहरू मिलेर तेलले मजाले एक अर्कामा मालिस गरिन्थ्यो । तालिमको बेलामा शरिरमा पानिको मात्रा कमी नहोस भनेर धेरै पानी खानुपर्ने । पानी खाने परेड नै हुन्थ्यो। एकदिन १० लि. पानी दुईजनाले एक पटकमा सक्नुपर्ने आदेश भएपछी सकिनसकि सक्यौं तर भर्खरै खाना खाएको भात पुरै बान्ता भयर पेट खालि भयो । राति निदमै भोक लागेछ । तालिमको पहिलो फेजमा घरबाट पनि केही खानेकुरा लिन नहुने । आफ्नो स्केलमा आउने बिस्कुट जम्मा पारेर राखेको झोलाको पकेटमा थियो त्यहि खाएर रात बिताइयो । तालिमको पहिलो फेजमा धेरै भोग लाग्ने भएर भान्सामा बचेको भात दाल तरकारि बाहिरै टेबलमा हुन्थ्यो हाम्रोलागि राति पानी भर्न गएर २/३ पटक दोहोर्याई तेहेर्याई खाना खान्थेउं । हरेक बिहान सुर्खेत को देउतीबज्यै, कालिकामन्दिर, कटकुवा, देउराली डाँडा लगायत विभिन्न ठाउँमा दौडिएर पुग्थ्यौं । एक्लै गर्नुपरेको भए कति कठिन लाग्थ्यो होला तर साथिहरूसँग रमाईलो मै बित्थे दिनहरू । हप्ताभरीको दुःख बिर्साउनलाई शुक्रबार साँझको खाना खाईसकेपछी नाचगानको कार्यक्रम पनि हुन्थ्यो। रमाईलो गर्थ्यौं। कहिले कालिका मन्दीरको सिंढि चडेर माथि डाँडामा पुगेपछी सामुहिक देउडा खेल्थ्यौं, कहिले चर्को स्वरमा गित गाउँदै जंगल नै गुञ्जयमान बनाउँथ्यौ । कहिले भारी बोकेर कुद्थ्यौं, कहिले खाली कुद्थ्यौं त कहिले आफ्नै साथिलाई काँधमा बोकेर । साथिलाई बोक्दा पनि नयाँ नयाँ पोजिशन सिकाइन्थ्यो, अनौठो लाग्थ्यो ।
चाडपर्वहरुमा घरको याद अलि बढि आउने गर्थ्यो । विभिन्न चाडपर्वहरू आउँदा पल्टनले चाडपर्व अनुसारको खानपिनको व्यवस्था गर्थ्यो। घरमा भन्दा छुट्टै तरिकाले पहिलो पटक चाडपर्वहरू मनाउँदा रमाइलो लाग्थ्यो । गुरुङ्ग जातिको बाहुल्यता रहेको पल्टन भएर पनि होला सॉस्कृतिक कार्यक्रमहरूमा त झनै बेजोड रमाईलो हुने । त्यस्तै मौकामा विंगो पनि खेलिन्थ्यो ।
विभिन्न चरण/चरणमा परिक्षाहरू हुन्थे । परिक्षाहरूमा राम्रो अङ्क प्राप्त गरेका कारण सुरुको फेजदेखी नै म लिडर को रूपमा थिएं । तालिममा मेहनत गरेर अगाडि आएपछि धेरै फाईदा हुनेकुरा गुरुजीले सुनाउनुहुन्थ्यो। म गुरुजीहरुको नजरमा राम्रै कहलिन्थें । धेरै जसो गुरुहरुले मलाई काले भनेर बोलाउनुहुन्थ्यो । मेरो सबै ध्यान तालिममा नै केन्द्रित भैसकेको थियो। मेरो सानैदेखीको धारणा थियो कि “जुन ठाउँमा जति समय काम गरिन्छ राम्रो गर्ने ।” त्यहि सोचाईले मेहेनत गरें दाई भर्ति भइसकेपछी तालिम सकेर पासआवट हुँदा कोरोना कहर चलिरहेको थियो । त्यतिबेला दाईको पासआउट बुबा ममिले देख्न नपाउनुभएका कारण मैले जसरी पनि बुबाममिलाई मेरो पासआवट देखाउनुपर्छ भन्ने सोच जाग्यो मनमा । फेरि तालिममा प्रथम भएर पुरस्कार पाउने आसापनि थियो।
तालिमको आउटडोरको सिलसिलामा जङ्गलको बासमा पञ्चु को घर बनाउँदा बाल्यकालमा माटोको घर बनाएर खेलेको याद झल्किन्थ्यो । एकैछिनमा दाउरा खोजेर, आगो बालेर मिस्टिनको बट्टामा भात पकाएर समूहमा खाँदाको छुट्टै आनन्द आउँथ्यो । क्यामो किरिम लगाएर गुरुहरुको मोबाईलमा फोटो खिच्न जाँदाका यादहरु अहिले पनि यो मनषपटलमा ताजै छन् ।
हामि तालिमको तेस्रो फेज सकेर घर बिदा जाने दिन आईसकेको थियो । विदा जाँदा सबैको एकैनासको सेतो कपडाको सटले पल्टनको गेटदेखी पिपलको रुखसम्म पुतलीहरू चलमलाइरहे झैं देखीन्थे ।
हामी तेस्रो आउटडोर सकेर आएपछी विदा गयौं। विदा त फेज फेजमा गईरहन्थ्यौ । यो सैन्य आधार तालिमको तेम्रो फेजको बिदा थियो।
घरमा गयो भने बिदा सकिएको पत्तो नै नहुने । बिदा सकिएपछि पासआउट परेडको लागि फेरी पल्टनमा आयौँ। पासआउट हुन १ महिना मात्र बाँकी थियो । पासआउट हुने दिनहरू नजिकिदै गर्दा मन उत्साहले हौसिएको थियो । विगतमा गरेका दुःखहरू भूल्दै गएका थिए । यसै बिचमा ७२ घण्टाको निरन्तर परेड पनि गर्यौं। सुरुमा कसैले अलिकति नमिठो बचन बोल्दा आँसु खसाल्ने हामी यतिवेला लगभग परिपक्क सैनिक व्यक्ति तयार भैसकेका थियौं । अत्यधिक गर्मिका कारण परेड गर्न नसकिने भएपछि माथिबाट विदा छोडने आदेश आयो । हामी बिदा गयौं र बिदा सकेर पुन: पास आउट परेडको लागि पल्टनमा हाजिर भयौं । १०८१ साल अषाढ २६ गते म सँगै १०३ जना पासआवट भयौँ। म तालिममा सर्वप्रथम भएर पुरस्कार प्राप्त गरें । माथिल्लो ग्राउण्डबाट मेरो बुबाममिले मलाई हेरिरहनु भएको थियो । आफन्त भेटघाट को समय भयपछि मैले बुबाममि र आफन्तहरुलाई भेटें । यो मेरो जिवनको एक महत्त्वपूर्ण र खुसिको क्षण थियो ।
पासआउट भएपछि मेरो युनिट श्री नरसींहदल गणमा पोष्टिङ्ग भयो। आफूसँग तालिम गरेको कोही साथीहरु परेनन् । म एक्लै । ५ दिनको बिदा पछि २०८१ साल श्रावण २ गते श्री नरसिंहदल गण सिंहदरबार व्यारेक काठमाण्डौंमा हाजिर भएँ।
युनिटमा मसहित विभिन्न स्थानबाट पासआउट भएर आएका ३४ जना साथिहरू भयौं । सैन्य तालिम गर्दा गुरुहरुले “आआफ्नो युनिटमा युनिट आधार तालिम मा प्रथम हुने कोसिस गर्नु त्यसपछि राम्रो तालिमहरू गर्न पाईन्छ ।” भन्नु भएको याद थियो मलाई । एक महिनाको युनिट आधार तालिम सुरु भयो। आफूलाई मैले प्रथम हुने कोसिस गरें र यहाँपनि प्रथम स्थान हासिल गरेर पुरस्कार प्राप्त गरें। मलाई सेनाको अनुशासन, बसाई र चालचलन लगभग सबै पल्टनको उस्तै नै हो जस्तो लाग्छ । यहाँसम्म आउँदा आज सैनिक जिवनको दुई वर्ष पूरा भएको छ । यहाँसम्म आईपुग्दासम्म साथ सहयोग गर्ने सम्पुर्ण घरपरिवार,साथिभाई, गुरुवर्ग, सबैसबैलाई धेरैधेरै सम्झना छ ।
नोट : यो विचार यमराज बिश्वकर्माको हो।

