
म एक प्रदेशि । आफ्नै घरको आटोपिठो खाएर गाउँकै विध्यालयबाट जेनतेन १२ कक्षा पास गरें । परिवारको सपना थियो पढेर छोराले जागिर खान्छ । देशमा गणतन्त्र आएको धेरै बर्ष भैसकेको थियो । ढिलैभयपनि देशले विकासको छलाङ मारिहाल्छ कि भन्ने धेरैको सोचाई थियो । जागिर खानलाई धेरै कोसिस गरेँ ।थौरै कोटा, त्यो पनि परिक्षा दिन जानै दुईदिन लाग्ने । पटक/पटक जाँच दिएँ तर भएन । घर नजिकै कतै अस्थायी करारको जागिर खाउँभने आफ्नो मान्छे कोहि थिएन । सबै आफ्नै मान्छेलाई मात्रै जागिर दिन रुचाउने । १० कक्षामा पढ्दा पढ्दै पढाइ छोडेर बिदेश गयको साथिले सहरमा घर बनाईसकेको थियो । मनमा लाग्यो कि पढेर मात्र नहुँदो रहेछ । व्यवसाय गरौं भनेपनि व्यवसाय डुब्यो भने कसैले बिमा वा क्षतिपुर्ति दिनेवाला थियन । फेरि आफुसँग गतिलो सिप र लगानिपनि भयन । बरु सोचें ऋण गरेर भयपनि बिदेश जाने । गाउँको सहकारिबाट ऋण झिकें भिसा लगाएं । अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट जहाज चढेर विदेश आएं । अहिले पनि बिदेशि भुमिमा पसिना बगाउँदै छु । आफ्नो देशमा बस्ने वातावरण भएन । मैले मेरो पसिना आफ्नो देशको लागि खर्चिन सकिन, म यो कुरामा दुःखी छु । तर मेरो राज्य दुःखी छैन । मैले त देश छोडेको हुँ देशले त मलाई गुमायको हो नि । म मात्र हैन म जस्तै लाखौं युवा गुमायको पीडा छैन मेरो देशका संचालकहरुलाई । गुमाउनेलाई त पीडा छैन भने म छोडेर हिँडेकोले कति चिन्ता लिनु भनेर मन बुझाउँछु । तर देशमा जब बाढि, पहिरो, भुकम्प र कोरोना जस्ता महामारी आउँछन यता मेरो मन कटक्क दुख्छ । भगवान पशुपतिनाथलाई पुकार्छु र भन्छु “मेरो देशमा केही नहोस्” । देशमै गरिखान सक्ने गतिलो शिक्षा पाईएन, गाउँबाट सहर जानलाई राम्रो बाटो र यातायात सुविधा पाईएन, रोजगार पाईएन, अझ भनौं देशमा सरकार छ भन्ने अभिभावकत्व पाईएन तर पनि आफू जन्मेको देश सम्झिने बित्तिकै असाध्यै माया लाग्छ । यहाँ नेपाली खेलाडिहरु आउँछन् खेल खेल्नलाई जितेर जाउन भन्ने भावना जाग्छ। कुनै नेपाली भेट्टिने बित्तिकै घरको दाईजस्तै लाग्छ । देशमा जन्मिनु बाहेकको त्यहि खोक्रो सर्टिफिकेट मात्रै छ मसँग । म विदेश आएवापत पनि मेरो देशलाई पैसा (रेमिट्यान्स) जान्छ । मैले केही लिएको छैन राज्यबाट । उल्टै म छोराछोरिको नागरिकता बनाउनलाई समेत राज्यलाई पैसा तिर्छु । तरपनि कसैले सोध्यो भने गर्वका साथ भन्न मन लाग्छ “म नेपाली हुँ ।” किनकी देशप्रति मेरो निस्वार्थ माया छ ।
यो लेख यमराज विश्वकर्माको हो।

