केही सातादेखि गर्मी बढ्दै जाँदा सर्लाहीसहित तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ। विशेष गरी पूर्व–पश्चिम राजमार्ग दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन्। सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बागमती, नयाँरोड, हरिवन, नवलपुर, लालबन्दीलगायत स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो।
बरहथवा, बयलवास, मलङ्गवालगायत भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरू गर्मीयाम भर धेरथोर आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेका देखिन्छन्। यहाँको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खरबुजा प्रतिकेजी ५० देखि ६० रुपियाँमा बिक्री भइरहेको छ। तराईमा शीतलताका लागि खरबुजा किनेर खाने गरिन्छ।
लालबन्दी बजारस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा खरबुजा बेच्न बस्नुभएका विनोद साहले यही चैत १२ गतेदेखि खरबुजा बेच्न सुरु गरेको बताउनुभयो। साहले गत वर्षजस्तो यस वर्ष खरबुजाको राम्रो व्यापार हुन नसकेको गुनासो गर्नुभयो । “बजारमा आर्थिक मन्दी भएर हामीजस्तो स–साना व्यापारीलाई पनि असर गरेको छ, पोहोर सालझैँ खरबुजाको व्यापार नै छैन्,” उहाँले भन्नुभयो, “यस्तो गर्मीमा त खरबुजा अत्यधिक बिक्री हुनुपर्ने हो तर भइरहेको छैन। ”
दैनिक चारदेखि पाँच हजारको खरबुजा बेचिरहेको साहले बताउनुभयो। बजारमा अहिले मानिसको चहलपहल नै नदेखिएको उहाँले बताउनुभयो। सर्लाहीमा पूर्वको सुनसरी, झापालगायत क्षेत्रबाट खरबुजा ल्याएर बिक्री गर्ने गरिन्छ। लालबन्दी बजारमै खरबुजा बेच्न बस्नुभएका अर्का व्यापारी सन्तोष साहले पनि यो वर्ष खरबुजा बेचेर टिक्नै गाह्रो परेको गुनासो गर्नुभयो।
उहाँले यो वर्ष खरबुजा बेचेर बचत गर्नै नसकेको गुनासो गर्नुभयो। “ठूलो पुँजी भएकाले भारतबाट १२ चक्के ट्रकमा १०÷२० रुपियाँ केजीमै किनेर ल्याउँछौँ, हामी सानो पुँजी भएकाले त्यसरी ल्याउन सक्दैनौँ, हामीले ती ठूला व्यापारीसँगै किन्ने हो,” साहले भन्नुभयो, “व्यापारीसँग हामी नै ४० रुपियाँ केजीमा किन्छौँ, भाडासमेत गरेर ४५/५० रुपियाँ पर्न जान्छ, एक केजीमा १०/१५ रुपियाँ जति राखेर बिक्री गछौँ, त्यसमा पनि व्यापार नै भएको छैन।”
राम्रो व्यापार हुँदा दैनिक एक हजारदेखि सात,आठ हजार रुपियाँसम्मको खरबुजा बेच्ने गरेको उहाँले बताउनुभयो। आफूले खरबुजासँगै भूइँकटहर प्रतिगोटा दुई सय रुपियाँले बेच्ने गरेको साहले बताउनुभयो। खरबुजा र भुइँकटहर सिङ्गै र चाना काटेर पनि बेच्ने गरिन्छ।