काठमाडौँ। नेपथ्य व्याण्डले आज काठमाडौँमा मानवता प्रवर्द्धनमा साथ दिँदै नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रुपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम साङ्गीतिक प्रस्तुति दिन लागेको हो।
नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ तथा उहाँको व्याण्ड सदस्यहरुले यस अघि विभिन्न देशका नौ वटा मुख्य सहरमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिसकेको छ। विभिन्न अभियानका साथ आफ्नो साङ्गीतिक प्रस्तुतिलाई जोड्दै अघि बढेकाे नेपथ्यले यस पटक नेपालमा मानवता प्रवर्द्धनका लागि आफ्नो साङ्गीतिक प्रस्तुति दिनुभएको हो। जसका लागि नेपथ्यले सडक मानवको उद्धार तथा रेखदेख गरिरहेको मानव सेवा आश्रमसँग सहकार्य गर्नुभएको बताउनुभयो।
सडकमा अलपत्र वस्तुजस्तै छरिएका सडक मानव देख्दा आफ्नो मन सँधै विचलित हुने गरेको अनुभव उहाँको छ उहाँले भन्नुभयो, उनीहरुका लागि कसैले केही गरिदिए हुन्थ्यो भन्ने सधैँ लागिरहन्थ्यो, मानव सेवा आश्रमले सुरु गरेको देखेपछि निकै खुशी लाग्यो।
सांगितिक प्रस्तुती दिनुअघि उहाँले आफ्नो धारणा राख्दै उहाँले सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडक आश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि सबैले सघाउनुपर्नेमा जोड दिनुभएको हो। काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिनुअघि यहाँका दर्शक श्राेता तथा आश्रमका आश्रितसँग शुक्रबार भेटेर आफ्नो देशव्यापी अनुभव सुनाउनुभयो। अरुबेला पैसा तिरेर साङ्गितिक प्रस्तुति हेर्न र सुन्ने दर्शक श्राेता बढी हुन्थे। तर यसपटक सडक मानवका लागि साङ्गीतिक कार्यक्रम गरेकाले पनि आम समुदायले थप सहयोग सौहार्दता दिनुभएको गुरुङले बताउनुभयो।
काठमाडौँको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पूरा भएको आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँमा झण्डै ६ हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
देशका नौ शहरमा भव्यताका साथ सम्पन्न भएको अभियानको अन्तिम कार्यक्रम काठमाडौँमा हुन लागेको हो । मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शक स्रोताको उपस्थिति रहने दाबी आयोजकले गरेको छ । आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनले परोपकारी नेपालीहरुको साथ र सहयोगले नै नमुना काम गर्न सकिन्छ र विदेशीको बाटो हेरिरहनुपर्दैन भन्ने उदाहरण आश्रमले प्रस्तुत गरेको बताउनुभयो ।
आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागार्जुनमा जग्गा प्राप्त भएको तर त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने भन्ने सुनेकाले सरकार र सम्बद्ध निकायलाई सहयोगका लागि अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद थपलियाले के गर्न सकिन्छ त्यस बिषयमा पहल गर्ने बताउनुभएको छ। महिनाव्यापी उक्त कार्यक्रमको सुरुवात मङ्सिर १६ गते विराटनटरको हाटखोला मैदानबाट भएको थियो। मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो।
वि सं २०६९ सालमा स्थापना भइ सडकका असहाय तथा बेवारिसे नागरिकको उद्धार अभियान थालेको आश्रमले हालसम्म झण्डै आठ हजार नागरिकलाई सडकबाट उद्धार गरिसकेको छ। हाल १ हजार ६०० सडक आश्रित मानवहरु आश्रमका विभिन्न शाखामा संरक्षित छन्। झण्डै एक हजारलाई परिवारमा पुनर्मिलन गराइसकेको छ।