सुर्खेत। सुर्खेत विमानस्थलबाट हुम्लामा नियमित हवाइ सेवा सुरु गरिएको छ। यो रुटमा लामो समयदेखि हवाइ सेवा अनियमित बनेको थियो। सुर्खेत–हुम्ला नियमित उडान पुनः सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हो। केही दिनयता सीता र समिट एयरले दैनिक दुईदेखि तीन उडान भर्न थालेका हुन्। सुर्खेत विमानस्थल प्रमुख देवेन्द्रप्रसाद पाण्डेले सुर्खेत–हुम्ला नियमित हवाइ सेवा सञ्चालन भएसँगै नेपालगञ्ज गएर जहाज कुर्नुपर्ने बाध्यता टरेको बताए।

शनिवार नागरिक उड्डयन प्राधिकरणको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पाण्डेले कर्णालीका विकट जिल्लाहरूमा नियमित उडान हुन थालेपछि यात्रुहरूलाई निकै सहज भएको जनाए। यही पुस १ गतेदेखि बुद्ध एयरले काठमाडौं–सुर्खेत ७२ सीटे जहाज दैनिक दुई उडान गर्दै आएको छ। त्यसअघि उक्त रुटमा बुद्ध एयरकै ४२ सीटे जहाजले दैनिक एक उडान भर्ने गरेको थियो। ठूलो क्षमताको जहाजको नियमित उडान थालिएपछि यात्रुहरूलाई अहिले थप सहज भएको छ। विगत ६८ वर्षदेखि सञ्चालनमा आएको सुर्खेत विमानस्थलले चालु आर्थिक वर्षको ६ महिनामा ४४ लाख राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा ४१ लाखमात्रै राजस्व संकलन भएको थियो। ठूला जहाजहरूको उडानले राजस्व संकलनमा वृद्धि हुँदै जाने देखिएको बिमानस्थल प्रमुख पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0