सुर्खेत। अघिल्लो कार्यकालमा स्थानीय सरकारले सडक पूर्वाधार निर्माणमा ठूलो लगानी गरे। स्थानीय तहको पहिलो कार्यकालमा वडैपिच्छे सडकका ट्रयाक खोलिए। गएका पाँच वर्ष सडक खन्ने कामलाई प्राथमिकता दिएका स्थानीय सरकारले अहिले तीनै सडकको स्तरोन्नतिमा जोड दिएका छन्। चालु आर्थिक वर्षमा पनि अधिकांश पालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार नै परेको हो। पालिकावासी सबैको सडकमा भरपर्दो र सहज पहुँच पुर्याउने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन्।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले यो वर्ष नयाँ सडक निर्माणभन्दा भएका सडक सुधार गर्न धेरै बजेट विनियोजन गरेको छ। सडकको ट्रयाक विस्तार गर्नेभन्दा स्तरोन्नतिका कार्यक्रमहरूलाई जोड दिएको नगरप्रमुख लालवीर भण्डारीले बताए। पालिकासँग पर्याप्त बजेट नहुँदा भने काम गर्न असहज भइरहेको उनले जनाए। ‘हामीले सडक स्तरोन्नतिका कार्यक्रमका लागि अन्य क्षेत्रभन्दा बढी बजेट छुट्याएका छौँ, तर त्यो पनि पर्याप्त भने छैन,’ उनले भने, ‘सडक पूर्वाधारको विकासका लागि आर्थिक स्रोतको जोहो गर्न प्रयासहरू थालिएको छ।’ यो पटक नयाँ सडक कम र पुरानाको स्तरोन्नतिमा बढी जोड दिइएको भण्डारीले बताए। उनका अनुसार पञ्चपुरीका सबैजसो सडक कच्ची छन् । सडक पूर्वाधार गतिलो नहुँदा नगरवासीले बाह्रै महिना सास्ती खेप्नुपरिरहेको छ । विकास ओसार्ने मुख्य माध्यम सडक नै भएकाले पनि पालिकाले यसलाई नै प्राथमिकतामा राखेको जनाएको छ । नागरिकको सहजताका लागि भरपर्दो सडक पूर्वाधार निर्माणमा जोड दिइएको नगरप्रमुख भण्डारीको भनाइ छ।

पालिकाहरूमा अघिल्लो कार्यकालमा धमाधम खनिएका सडक गुणस्तरीय छैनन्। ती सडकहरूमा तीन महिना पनि मुस्किलले गाडि सञ्चालन हुन्छन् । प्राविधिकहरूको सल्लाहविना नै जथाभावी खनिएका सडक थुप्रै छन्। कच्ची र जोखिमपूर्ण सडकहरूले सास्ती हुन थालेपछि अहिले नागरिकस्तरबाट पनि गुणस्तरीय बाटो निर्माणको माग गर्न थालिएको छ। धमाधम खोलिएका सडकले दुर्घटना हुन थालेपछि सडक स्तरोन्नतिको माग धेरै आउने गरेको जनप्रतिनिधिहरू बताउँछन्। सुर्खेतको लेकवेशी नगरपालिका जिल्लाका अन्य पालिकाको तुलनामा भौतिक पूर्वाधारमा पछाडि छ। यहाँ सबैभन्दा धेरै सडक निर्माण र स्तरोन्नतिको माग हुने गरेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए।

लेकवेशीमा पहिलो कार्यकालमा तीनवटै तहका सरकारको समन्वयमा बाटो निर्माणमा जोड दिइएको थियो। चालुु आर्थिक वर्षमा नगरपालिका आफैले सडक पूर्वाधारका लागि करोडौ बजेट विनियोजन गरेको छ। त्यसका साथै प्रदेश र संघीय सरकारका सडक आयोजनाहरू पनि सञ्चालन भइरहेका छन्। ‘सडक सुधार विस्तारमा पालिकाले ठूलो लगानी गर्दैछ,’ नगर प्रमुख पौडेल भन्छन्, ‘खासगरी कच्ची र जीर्ण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने योजनासहित कामहरू भइरहेका छन्।’ यो वर्ष सडक स्तरोन्नतिका कार्यक्रमका लागि बजेटसमेत पर्याप्त छुट्याइएको उनले जनाए। सहरी विकास तथा भवन निर्माण कार्यान्वयन इकाई सुर्खेतले लेकवेशीका तीनवटा ठूला सडक स्तरोन्नतिको काम अघि बढाइएको छ। नगरको वडा नं. ४ मा एक करोड ३५ लाखमा सडक कालोपत्रे गरिँदैछ भने वडा नं. १ मा ९५ लाखको लागतमा सडक सुधारका काम भइरहेका छन्। प्रदेशको समपूरक बजेटमा पालिकाका वडा नं. १, ७ र ८ मा दुई करोड ६२ लाख लगानीमा सडक स्तरोन्नति थालिएको छ । यस्तै, वडा नं. ९ मा ४५ लाख लगानीमा सडक सुधारको काम अघि बढेको नगरप्रमुख पौडेलले बताए। नगरका विभिन्न स्थानमा एक करोड ४० लाख बजेटमा नालीसहितका सडकहरू ग्रावेल गर्ने कार्य सुरु गरिएको छ । लेकवेशीमा सञ्चालन भएका धेरै सडक योजना भने बहुवर्षीय हुन्।

कालीकोटको पचालझरना गाउँपालिकाले पनि यो वर्ष सडक स्तरोन्नतिको कामलाई उच्च प्राथमिकतामा राखेको छ। पालिकाका नौ वटै वडामा सडक पुुगेको छ। त्यसमध्ये तीन वटा वडामा मात्र सडक सञ्चालनमा छन्। अधिकांश सडकहरूमा गाडि गुड्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष देवराज शाहीले बताए। पालिकाले चालु आर्थिक वर्षमा तीनै सडकको मर्मत सम्भारमा चासो दिएको उनले जनाए। ‘भएका बाटोलाई नै सुधार गरेर यातायात सेवा सहज बनाउन लागिएको छ,’ उनले भने, ‘व्यवस्थित र भरपर्दो सडक नहुँदा दुर्घटनाको जोखिम धेरै छ।’ विपद् कोषको बजेटबाट समेत सडक मर्मतका कामहरू थालिएको उनी बताउँछन्। दुर्गमका पालिका मात्र नभइ प्रदेश राजधानीकै नगर वीरेन्द्रनगरमा पनि सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ। यहाँ पछिल्लो समय मुख्य तथा सहायक सडकहरू स्तरोन्नतिका काम थालिएका हुन्। नगरपालिकाले उपत्यकाका मुख्य सडकहरू फराकिला र सहायक सडकको स्तरोन्नतिमा जोड दिएको छ।

साभार ; साझा बिसौनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0