सुर्खेत। नेकपा एमाले लगायतका दलहरुको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएसंगै कर्णालीमा पनि अबको मुख्यमन्त्री को बन्ने भन्ने बिषय चर्चामा आएको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० जना सांसद छन् । यसर्थ कर्णालीमा माओवादी तथा एमाले बहुमतकोे सरकार बन्ने देखिन्छ । काँग्रेस–माओवादी मिलेर निर्वाचनमा गएको साथै मिलेर सरकार बनाउने तयारी भैरहेको भए पनि केन्द्रमा सहमति नजुट्दा कर्णाली प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने कुरा सतहमा आएको छ।
नेकपा एमालेबाट मुख्यमन्त्रीका लागि यामलाल कंडेल बलियो दाबेदार हुन् । यस्तै माओवादी केन्द्रबाट राज कुमार शाही र बिन्दमान बिष्टको चर्चा छ । तसर्थ कर्णालीमा एमालेको नेतृत्त्वमा सरकार बनेमा कंडेल र माओवादीको नेतृत्तवमा सरकार बनेमा राज कुमार शाह र बिन्दमान बिष्ट मध्ये एक मुख्यमन्त्री बन्नेछन् । यदपि कस्को सरकार बन्ने भन्ने कुरा केन्द्रको निर्णयमै भर पर्ने देखिन्छ।
हाल काँग्रेसका जीवन बहादुर शाही मुख्यमन्त्री छन्। काँग्रेस र माओवादीको सरकार भएको खण्डमा आफू नै दोहोरिने शाहीले दावी गरेका थिए। तर केन्द्रमा सहमति नजुट्दा सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको नेपाली काँँग्रेस प्रमुख प्रतिपक्षीको भुमिकामा रहने देखिन्छ।