गुलरिया (बर्दिया)। सात वर्षीया बालिका सायरा थारूमाथि आक्रमण गरी ज्यान लिने चितुवा अन्ततः नियन्त्रणमा आएको छ। डिभिजन वन कार्यालय बर्दियाले दिएको जानकारीअनुसार, मंगलबार राति थापिएको पासोमा चितुवा फसेको हो।

वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार, चितुवा फसाल्न बाख्रा प्रयोग गरिएको थियो। बुधबार बिहान पासो जाँच गर्ने क्रममा चितुवा फसेको अवस्थामा फेला परेको हो। अहिले उक्त चितुवालाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको चौधरीले जानकारी दिए।

चितुवाको त्रासले त्रसित बनेका बालापुरवासी चितुवा नियन्त्रणमा आएपछि खुसी व्यक्त गरेका छन्। गुलरिया नगरपालिका-५ बालापुरका मूल बडघर कालिप्रसाद थारूले चितुवा नियन्त्रणमा आएपछि केही राहत महसुस भएको बताए। तर, जंगलमा अझै पनि चितुवाको उपस्थिति हुन सक्ने सम्भावना भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेका छन् ।

चितुवा फसाल्न एक हप्टा अघिदेखि दुईवटा पासो थापिएको थियो। त्यस क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले दुईवटा हात्ती पनि परिचालन गरेका थिए। खोजी अभियानमा दुई जना पशु चिकित्सकसहित प्राविधिक टोलीसमेत खटाइएको थियो। डिभिजन वन कार्यालयका अनुसार, चितुवा नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयबाट ४५ जना जनशक्ति परिचालन गरिएको हो।

पछिल्लो समय गुलरिया क्षेत्रमा चितुवाको आक्रमण क्रमशः बढ्दै गएको छ। गत वैशाख १५ गते गुलरिया-५ स्थित सरयू सामुदायिक वन क्षेत्रमा चितुवाको आक्रमणमा परी नौ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो। डिभिजन वन कार्यालय बर्दियाका अनुसार, गत मङ्सिर देखि हालसम्म चितुवाको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन्।

वन कार्यालयले चितुवाको आतङ्क नियन्त्रणका लागि थप निगरानी र सुरक्षात्मक उपाय अपनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0