
सुर्खेत, वैशाख २२ ।
भेरीगंगा नगरपालिका-१२ झिगेनारा खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। गुर्भाकोट नगरपालिका-५ की २६ वर्षीया प्रेमा ओलीको शव छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा रत्न राजमार्ग नजिकैको खोलामा आइतबार बिहान घोप्टो परेको अवस्थामा फेला परेको हो।
मृतकको टाउकोमा गहिरो चोट लागेको र शरीर रगताम्मे अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढा थापाले जानकारी दिए। उनका अनुसार,
“शवको अवस्था हेर्दा सामान्य दुर्घटनाजस्तो देखिँदैन। नेपालगन्जबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान सुरु गरेका छौं।”
मृतक प्रेमा ओलीका श्रीमान् दर्शन खत्री नेपाली सेनामा कार्यरत छन्। उनलाई इलाका प्रहरी कार्यालय छिन्चुले घरबाटै सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनाको सम्भावित कारण, पारिवारिक पृष्ठभूमि र सम्भावित कुटपिट वा हत्या सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शवको सनाखत आफन्तहरूको रोहबरमा गरिएको थियो। त्यसपछि शवलाई पोष्टमार्टमका लागि सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको छ।
प्रेमाको एक छोरी समेत रहेको प्रहरीले जनाएको छ। मृतकको परिवार अहिले गहिरो शोकमा डुबेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, प्रेमा केही समयदेखि मानसिक तनावमा थिइन् भन्ने चर्चा छ, तर घटनाको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र पुष्टि हुनेछ।
प्रहरीले घटनालाई सम्भावित घरेलु हिंसा वा हत्याको दृष्टिकोणले लिएको छ। अनुसन्धान पूरा भएपछि दोषीमाथि कानुनी कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

