
काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका छन्। आन्दोलन स्थगनसँगै आज (बुधबार) देखि सार्वजनिक सवारीसाधन नियमित रूपमा सञ्चालनमा आउने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराए। उनका अनुसार, सरकारसँग भएको सहमतिअनुसार व्यवसायीहरूले सवारी सञ्चालनमा सहमति जनाएका हुन्।
यसअघि सोमबार राति गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र व्यवसायीबीच पटक-पटकको वार्तापछि सहमति जुटेको थियो। सो सहमति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई पठाइएको थियो। त्यसकै आधारमा गण्डकी प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेको हो।
यद्यपि संघीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म आन्दोलन जारी रहने अडान व्यवसायीले लिएका थिए। त्यसका कारण मंगलबार पनि सार्वजनिक सवारी साधन सञ्चालनमा नआएपछि सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो।
अब भने सहमति कार्यान्वयनमा आएसँगै सार्वजनिक यातायात सञ्चालनमा सहजता आउने विश्वास गरिएको छ।

