काठमाडौं। हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ।
यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ। आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ।
नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ। त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ।
यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ। श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ।
ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन। कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ।
यो धार्मिक विधी विधान कुनै आडम्बर होइन। अन्धविश्वास होइन। यसको आफ्नै वैज्ञानिक महत्व पनि छ।
प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो। पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ। सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ। सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ।