काठमाडौँ। रासायनिक मलको अभाव पूरा गर्न मकवानपुरमा अर्गानिक मल उत्पादन हुने भएको छ। राजेश्वर बायो फर्टिलाइजर्स कम्पनीबाट भदौदेखि सो मल उत्पादन हुने भएको छ।
राजेश्वर बायोका प्रमुख हृदयराज गौतमले नेपालमा मलको आवश्यकता जति छ, त्यति मल उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको बताउनुभयो। बर्सेनि हुने मलको हाहाकारलाई आफूहरूले रोक्ने प्रयत्न गरेको उहाँले बताउनुभयो। पहिलो वर्ष दुई लाख मेट्रिक टन र दोस्रो वर्षदेखि बढाउँदै जाने र छैटौँ वर्षसम्म साढे सात लाख मेट्रिक टनसम्म मल उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “नेपालमा सातदेखि आठ लाख मेट्रिक टन मलको आवश्यकता छ, त्यो हामीले पूरा गर्छौं र त्यसको तयारी लगभग पूरा भएको छ।” नेपालमा उत्पादन हुने अन्य अर्गानिक मलभन्दा आफूहरूको मल बिलकुल फरक रहेको दाबी गर्दै उहाँले आफूले उत्पादन गर्ने मल जैविकको सम्पूर्ण मल हुने दाबी गर्नुभयो।
आफूहरूले उत्पादन गर्ने मलमा नाइट्रोजन, फस्फोरस र पोटास एक साथ हुन्छन्। नेपालमा हालसम्म उत्पादन भएको अन्य मलभन्दा यसको गुणस्तर उच्च रहेको दाबी उहाँले गर्नुभयो। आफूहरूले उत्पादन गर्ने मलको गुणस्तर एनपिके (नाइट्रोजन, फस्फोरस र क्यालिक) क्रमशः ३-२-३ रहेको छ, यो गुणस्तरको मल नेपालमा छैन भनी आफूहरूको दाबी रहेको उहाँले बताउनुभयो।
सम्भवतः नेपालको अर्गानिक मलमा एक साथ नाइट्रोजन, फस्फोरस र पोटास छँदै छैनभन्दा पनि हुन्छ। सरकारले अर्गानिक मलका लागि १-०.५-१ देखि ४-३-६ सम्म एनपिके रहने मापदण्ड बनाएको छ। त्यसमध्ये आफूहरूले उत्पादन गर्ने मलको एनपिके क्रमशः ३-२-३ रहेको छ, जो नेपालको हकमा उच्च गुणस्तर रहेको उहाँले दाबी गर्नुभयो।
रासायनिक मलको एउटैमा नाइट्रोजन, फस्फोरस र पोटास हुँदैन। युरियामा नाइट्रोजन, डिएपीमा फस्फोरस हुन्छ भने पोटास छुट्टै हुन्छ तर आफूहरूले एनपिके एउटैमा दिइरहेकाले त्यसलाई ‘जैविक सम्पूर्ण मल’ भनिएको उहाँले दावी गर्नुभयो।
आफूहरूको मल रौतहट, मकवानपुर र चितवनमा परीक्षण भइसकेको बताउँदै उहाँले किसानले पनि मन पराएका कारण मल उत्पादनमा जोड दिएको बताउनुभयो। रासायनिक मल जस्तै उत्पादन दिन थालेपछि किसानले यो मल नै प्रयोग गर्ने भएपछि भदौदेखि उत्पादन सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो। सुरुमा तीन करोडको लगानी रहेको छ। उत्पादन वृद्धि गर्दै गएपछि लगानी पनि वृद्धि गर्दै जाने उहाँले बताउनुभयो।