नुवाकोट । बिदुर नगरपालिका -१२ मा आज बस दुर्घटना हुदाँ तीन जनाको निधन भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर-४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका -१ दाङसिंहतर्फ जाँदैगरेको बा २ ख ८४५ नम्बरको बस विदुर -१२ चैनपुरस्थित पीपलबोट भन्ने स्थानमा दुर्घटना हुदाँ ३ जनाको निधन भएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा त्रिशूली अस्पतालमा आज निधन भएको हो।
निधन हुनेमा तारकेश्वर गाउँपालिका -६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँको श्रीमती ६० वर्षीया सितादेवी अर्याल र विदुर -३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन्। दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ पठाइएको छ।
नमस्ते पासाङ ल्यामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पीपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्नेक्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्। उकालोमा अघि बढ्नुपर्ने बस पछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिनुभयो।