जाजरकोटको ८२ किलोमिटर खण्डभित्र पर्ने मन्ताभीर निर्माण नहुँदा मध्यपहाडी लोकमार्गको निर्माण कार्य अधुरो भएको छ। लथालिंग तरिकाले सडक निर्माण गर्दा तोकिएको समयमा काम हुुन नसकेको हो। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा लामो समयदेखि मन्ताभीर फोड्ने काम पूरा नहुँदा समस्या हुँदै आएको छ।
जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने उक्त भीर कटानको काम गर्न थालेको १२ वर्ष लागे पनि अझै पूरा हुन सकेको छैन। भीर कटानको जिम्मेवारी लिएको निर्माण व्यवसायी र आयोजनाले एकले अर्कालाई भीर नभएको प्रति आरोप लगाउँदै आएका छन्। सबै ठाउँमा पिच गर्ने भन्दै कामसमेत जारी छ । पिच भएको अधिकांश ठाउँ भत्किसकेको अवस्थामा छ।
मापदण्डअनुसारको निर्माण सामग्री प्रयोग नभएका कारण सडक अगाडि बनाउदै, पछाडि भत्किँदै गरेको अवस्था छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ताभीर खण्डको बाटो निर्माण हुन नसक्दा समस्या हुँदै आएको छ । कुदुदेखि सुयाडासम्मको ८२ किमि सडकसमेत खुलिसकेको छ, तर मन्ताभीरको पाँच सय मिटर चट्टानका कारण १२ वर्षदेखि सडकको काम अलपत्र परेको हो।
अगाडि बनाउँदै जाँदा पछाडि भत्किँदै
लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुदेखि स्याउली बजारसम्म पिचको काम पूरा भए पनि भत्किने कामसमेत सुरु भएको छ । आधा दर्जन बढी ठाउँमा सडक भत्किएका कारण यो पिच भएको सडक जोखिमपूर्ण भएको छ । निर्माण व्यवसायीले भत्किएको सडक मर्मततर्फ ध्यान नदिएको स्थानीय भविलाल शाहीले बताए ।
१७ किलोमिटर सडक पिच भएकोमा जगतीपुरदेखि स्याउली बजारसम्म अधिकांश ठाउँमा भत्किएको शाहीले बताए । सडक निर्माण गर्दा स्थानीयबासीको होटलमा खाएको र कामदारले श्रमको मूल्य नपाएको गुनासोसमेत गरेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत ८२ किलोमिटर सडक जाजरकोटमा पर्छ । उता, निर्माण व्यवसायी सिंह एण्ड ब्रोदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा काम भइसकेको बताएका छन् ।
त्यस्तै, स्याउलीदेखि कार्कीगाउँसम्मको १७ किलोमिटरमा पिचको काम जारी रहँदा काम गुणस्तर नभएको भन्दै पर्खाल भत्काउँदै बनाउँदै गर्ने कामसमेत जारी रहेको छ । सिमेन्ट र बालुवा राख्दा मापदण्डभन्दा बाहिर गएर निर्माण गरेको भेटिएपछि भत्काउने काम भएको हो । प्राविधिकहरूको आँखा छलेर भारी मात्रामा सडकमा पिच गर्दा कटिङ गरिएको ठाउँमा लगाइने वालहरूमा मापदण्डभन्दा बाहिर गएर काम गर्ने गरेको पाइएको प्राविधिकको भनाइ छ ।
कार्की गाउँबाट थलहसम्मको २० किलोमिटरमा समेत काम जारी रहेको छ । थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको पिचको काम सकिएको छ । यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डको काम पूरा गर्ने लक्ष्य छ ।
भत्किएको सडकका बारेमा ठेकेदार बेखबर
कुदुदेखि स्याउली बजारसम्म पिच भइसकेको सडक भत्किए पनि ठेकेदार कम्पनी बेखबर छ । पिच गर्न बाँकी रहेको ठाउँमा मात्र काम भइरहेको छ भने पिच भत्किएको ठाउँमा काम सुरु नै गरिएको छैन । भत्किएको विषयमा पटक–पटक कुरा उठाउँदा पनि सुनुवाइ नभएको स्थानीय कमल शाहीले बताए ।
उत्ता निर्माण कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले आयोजनाबाट आफूले पैसा नपाएका कारण काम गर्न गाह्रो भएको बताए । आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले भारी बदमासी गरेको बताए । एकले अर्कालाई आरोप लगाउने भन्दा अरु काम नगरेको स्थानीयबासी बताउँछन् ।
ठेकेदारलाई साढे आठ करोड जरिवाना
ठेक्का लिएको १० वर्षसम्म पुल नबाउने ठेकेदार कम्पनीलाई सरकारले साढे आठ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई साढे आठ करोड रकम जरिवाना तिराउने भएको हो ।
निर्देशनालयले एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै आठ करोड रुपैयाँ दाखिला गराउने जनाएको छ । वाईपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण गर्ने काम अलपत्र पारेको थियो । निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि निर्माण कार्य गर्न अटेर गरेपछि गत २९ मंसिरको विभागीय निर्णयअनुसार ठेक्का सम्झौता रद्ध गरिएको थियो ।
कम्पनीले २०६९ मा नै ठेक्का सम्झौता गरेको थियो । तर १० वर्षको समय बितिसक्दा पनि निर्माण कार्य भने सम्पन्न गर्न नसकेपछि निर्माण व्यवसायीसँग ठेक्का तोडिएको हो । सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असुल उपर गर्ने व्यवस्था छ ।
सोही नियमावली अनुसार उक्त ठेक्काको जम्मा रकम आठ करोड ५७ लाख ९५ हजार ६ सय २६ रुपैयाँ जरिवाना गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए । यो रकम निर्माण व्यवसायीले आयोजना निर्देशनालयलाई तिर्नुपर्नेछ । पेस्कीको ब्याज, अतिरिक्त रकम र क्षतिपूर्ति वापतको रकम तिर्नुपर्ने भएको हो ।
निर्माण व्यवसायीले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने आयोजनाले जनाएको छ । ६ माघमा सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साथै हालसम्म भएको अधुरो कार्य स्वीकार योग्य नभएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ८ बमोजिम निर्माण कार्य पूरा गर्न लाग्ने उक्त रकम वाईपी कन्स्ट्रक्सनबाट असुलउपर गरिने आयोजना निर्देशनालयले जनाएको छ ।
लागत स्टिमेट तयार हुँदैछ । कति रकममा पुल बन्छ सबै रकम सोही निर्माण कम्पनीले तिर्नुपर्ने प्रावधान रहेको डिभिजन प्रमुख पोखरेलले बताए । जरिवाना र लागत रकम तिर्न आनाकानी गरे सरकारी बाँकी सरह जायजेथा (अचल सम्पती)बाट समेत असुल उपर गर्ने कानुनी प्रावधान रहेको उनले बताए । वाईपी कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०६९ सालमा यो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण १० वर्षदेखि निर्माण कार्य अलपत्र परेको थियो । पुलका दुई वटा पिलरमात्र हालेर निर्माण कम्पनीले काम अलपत्र छोडेको हो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड स्टमेटको यो ठेक्का वाईपी कन्स्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठले १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए ।