सुर्खेत। विगत तीन वर्षदेखि हुँदै आएको ‘कर्णाली उत्सव’ को चौथो संस्करण यही फागुन ५ देखि ७ गतेसम्म हुने भएको छ। प्रदेश राजधानी सुर्खेतको बुलबुले उद्यानमा उत्सव हुने कर्णाली उत्सवका संयोजक कमल लम्सालले जानकारी दिनुभयो।
उहाँका अनुसार उत्सवमा कर्णालीका भाषा, संस्कृति, सभ्यता र पुरातत्त्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुनेछ। राजनीतिदेखि कला संस्कृति तथा सीपको पुस्तान्तरणका सन्दर्भमा समेत छलफल हुने छ।
उत्सवमा ‘कर्णाली चिन्तन’, ‘कर्णाली खेल्दो छ’, ‘यो शहर, त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’, ‘दलित र दलिल’, ‘भोक र भोजन’, ‘रेडियोको रस’, ‘सङ्घीयताको पाँच वर्षः कति विस्मात, कति वर्ष ?’, ‘कर्णाली नदी प्रणाली’, ‘कर्णालीमा लगानी’, ‘रूपान्तरण र पुस्तान्तरण’, ‘सग्लो समाज: सङ्लो राजनीति’, ‘समावेशी शासन,’ ‘डिजिटल डेमोक्रेसी’, ‘कर्णालीदेखि काठमाडौँसम्म’ गरी १६ वटा सत्र रहने संयोजक लम्सालले जानकारी दिनुभयो।
उत्सवमा देश विदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवी एवं विशिष्ट व्यक्ति वक्ता रहने छन्।
उत्सवले कर्णालीको मौलिक इतिहास कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास छ।
उत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पैकलोको रुपमा प्रस्तुत गरिने छ। उत्सवको पहिलो दिनमा पाँच वटा सेसन हुने छन्। खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेशमा चर्चा हुने छ। उत्सवको तीनै दिन जुम्ला तातोपानी गाउँपालिकाको पञ्चेबाजा प्रस्तुति रहने छ।
कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गरिने आयोजक दिनेश गौतमले बताउनुभयो।