सुर्खेत। कर्णाली नदीमा पक्की पुल बनेपछि कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेश सडक सञ्जालमा जोडिएका छन्। सुर्खेतको पञ्चपुरी ११ कुइने र कैलालीको मोहन्याल ७ बडीगाउँमा रहेको कर्णाली नदी माथी पक्की पुल निर्माण भएपछि अन्तरप्रदेश जोडिएका हुन्।
तीन सय मिटर दूरीको पुल ३२ करोड रुपियाँ लागतमा निर्माण सम्पन्न भएको हो। पुल बनेपछि पश्चिमका नागरिकलाई जोखिम मोलेर कर्णाली नदी तर्नुपर्ने बाध्यता हटेको छ। यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज हुनेगरेको थियो।
‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री सस्तो र छिटो यहाँ आउनेभयो,’ पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले भन्नुभयोे, ‘यसअघि सामानकै लागि झोलुंगे पुल र नाउ तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो।’
दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भण्डारीले बताउनुभयो । पुल बनेपछि कर्णालीका १० वटै जिल्लाका नागरिकलाई भारत जान होस् या व्यापार व्यवसायका लागि सहज हुने उहाँको भनाइ छ।