पोखरा। फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो। आइतबार बिहान साढे १० बजेतिर उहाँ सधैंजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो। नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो। एकैछिन दिमागमा सन्नाटा छायो।

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरू खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उहाँले भन्नुभयो, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेँछु पत्तै भएन।”

यत्तिकैमा आगो र धुवाँको कालो मुस्लो देखियो। ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उहाँ पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनि ओत लाग्नुभयो। “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उहाँले सुनाउनुभयो, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटो छिटो उकालो लागेँ।”

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए। उहाँलाई तब मात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो। “बुढापाकाहरू काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे।”

खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भन्नुभयो, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ।”

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्नुहुन्छ। त्यहीँकै राम ब्लक उद्योगमा चालकका रूपमा काम गर्न थालेको १० वर्ष भयो। तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनुभयो, नत्र श्रीमती र बालबच्चाको के हालत हुन्थ्यो होला?”

अहिले आले टाउकैमाथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान् धन्यवाद दिँदै बस्नुभएको छ। “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उहाँले भन्नुभयो।

पोखरा महानगरपालिका वडा नं. १५ स्थित सीतारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतीको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ। बाँकी दुई जनाको खोजी अझै जारी छ।

घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौं शिक्षण अस्पतालका फरेन्सिक  प्रमुख टोलीको नेतृत्वमा र पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ।

सनाखत गर्न मिल्ने शवको परिवारसँग ‘भेरिफाइ’को काम भइरहेको छ। भेरिफाइपछि शवको पोस्टमार्टम सुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डिएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार ४६ जनाको शव काठमाडौं पठाउनुपर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइनेछ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0