काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिनुभएको छ। उहाले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिनुभयो।
१. तृणमूल तहका नागरिकहरूमा सरकारप्रतिको विश्वास आर्जन गर्ने र सरकार मेरो अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारीमा तपाईँहरू हुनुहुन्छ। भुइँमान्छेका आवाज केन्द्रसम्म पुर्याउने र सुनुवाइको अवसर सिर्जना गर्ने भूमिकामा हुनुहुन्छ।
२. नागरिकहरूमा समस्या सुन्दा र समाधानको पहल गर्दा समभावसहित गरौँ।
३. विपद्का समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ। शीतलहरूबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयङ्गम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार हौँ।
४. क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्याङ्कनको दीर्घकालीन प्रभावबारे बिचार गरौँ।
५. मन्त्रालयमा राय माग्नुपूर्व सम्बन्धित विषयमा विद्यमान कानूनी तथा कार्यविधिगत व्यवस्था एवं अभ्यासका बारेमा पर्याप्त अध्ययन गरौँ। पारस्परिक सिकाई बाट समस्याको समाधान गर्ने प्रयत्न गरौँ।
६. तपाईँहरू (underfinanced, understaffed) हुनुहुन्छ भन्ने हामीलाई थाहा छ । तथापि पूर्ण सेवाभावले काम गरी नागरिकको अनुहारमा मुस्कान ल्याउने जिम्मेवारीमा पनि हुनुहुन्छ । जनताको मुहारमा ल्याउन सकेको खुसी अमूल्य छ। त्यो खुसी ल्याउने अवसर नगुमाउनु होस्।
७. समन्वय सहकार्य र प्रभावकारी सञ्चारमा जोड दिनुहोस्। आफ्नो ढोकासम्म आइपुगेका व्यक्तिहरू ठूलो भरोसा सहित आएका हुन्छन् भन्ने कुरालाई सधैँ हृदयङ्गम गर्नुहोस्।
८. जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिनुहोस्। निर्णयमा ऐन, नियम, कानून, कार्यविधि एवं विवेकको समेत प्रयोग गर्नुहोस्। तपाईँ न्याय गर्ने ठाउँमा हुनुहुन्छ। न्याय गर्दा लिपिबद्ध कानून मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस्। यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्छ। विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुस्ट्याइँ पनि लेख्नुहोस्।
९. सेवा प्रवाह सरलीकरण र सुधारका नवीन र नवप्रवर्तनात्मक उपायहरू खोज्नुहोस् र प्रयोगमा ल्याउनुहोस्। जिम्मेवारी पन्छाउने कामले जनविश्वास कमजोर पार्दछ भन्ने मनन गर्नुहोस्।