काठमाडौँ। चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ। अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ। गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो।
चालू आवको पाँच महिनामा पाम तेलको निर्यात ६० प्रतिशत घटेर १० अर्ब ८७ करोड रुपियाँको निर्यात भएको छ। खानामा बाहेक भारतमा खासगरी शृङ्गार सामग्री र साबुन उत्पादनका लागि पनि पाम तेल निर्यात हुने गरेको छ। भटमास तेलको निर्यात ७७ प्रतिशतले घटेर छ अर्ब ९८ करोड र सूर्यमुखी तेल ९० प्रतिशतले घटेर २२ करोड ३१ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ।
विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकको समग्र निर्यात ३४ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपियाँको निर्यात भएको छ। समग्र निर्यातमा २६ प्रतिशत योगदान पाम, भटमास र सूर्यमुखी तेलको रहेको छ। गत वर्ष पाँच महिनामा मुलुकबाट एक खर्ब २९ अर्ब २० करोड रुपियाँ बराबरको समग्र वस्तुको निर्यात भएको थियो। त्यतिबेला पाम, भटमास र सूर्यमुखी तेलको कुल निर्यातमा ५८ प्रतिशत योगदान थियो।
भारत सरकारले कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएसँगै पाम, सूर्यमुखी र भटमास तेलको निर्यातमा कमी आएको हो । व्यवसायीले कच्चा पदार्थ आयात गरेर मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने गरेका थिए।
व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेलमा भन्सार महसुल घटाएका कारण निर्यातमा उल्लेख्य कमी आएको जानकारी दिनुभयो । यसअघि भन्सार महसुल उच्च हुँदा नेपालबाट ठूलो परिमाणमा तेल निर्यात हुने गरेको थियो । पाम तेलको भन्सार शुल्क घटेका कारण अन्य मुलुकबाट व्यवसायीले आयात गर्न थालेपछि निर्यात ह्वात्तै घटेको उहाँले जानकारी दिनुभयो । पाम तेलको निर्यात बढेको कारण गत वर्ष समग्र वस्तुको निर्यातमा वृद्धि भएको थियो।
भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ। आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो। भारत सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य र जीएसटी ५ प्रतिशत कायम गरेको छ। नेपालमा कच्चा पदार्थ आयातमा भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। भारत सरकारले कच्चा पदार्थको आयातमा शून्य भन्सारदर कायम गरेसँगै तेलको मूल्य सस्तो, माग कम भएको व्यवसायीको भनाइ छ।
यसअघि भारतले कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दा नेपालबाट निर्यात हुने तेलभन्दा महँगो पर्थ्यो। नेपालबाट उच्च परिमाणमा तेल निर्यात भएको थियो। नेपालमा तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा उत्पादन हुँदैन।
व्यवसायीले इन्डोनेसिया, अर्जेन्टिना, मलेसिया, युक्रेन, रसियालगायत अन्य विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै आएका छन्। सोही आयातित तेल प्रशोधन गरी उद्योगी व्यवसायीले आन्तरिक बजारमा आपूर्ति गरेसँगै भारतमा समेत निर्यात गर्दै आएका छन्।