एजेन्सी; साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ को फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुँदैछ ।
सन् १९९८ मा फ्रान्सले उपाधि जित्दा कप्तानी गरेका डीडीएर डेस्च्याम्प्सले सन् २०१८ मा प्रशिक्षकको भूमिकामा टोलीलाई उपाधि दिलाए। उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् । डेस्च्याम्प्सले फाइनलअघि धेरैको चाहना अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले विश्वकप जितोस् भन्ने चाहने धेरै रहेको पनि बुझेका छन्।
‘मलाई थाहा छ अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छ। हुनसक्छ यसमा फ्रान्सकै केही पनि छन्। तर हामी आफ्नो लक्ष्य पूरा गर्न आएका हौं र त्यसमा ध्यान दिइरहेका छौं।’
‘म आफू एक्लो महसुस पनि गरिरहेको छु। तर त्यसले केहि फरक पर्दैन। मलाई खेलबारे कुनै चिन्ता छैन। महत्त्वपूर्ण खेलको तयारी गर्दा ध्यान केन्द्रित गर्न जरुरि छ । म त्यसमा ध्यान दिइरहेको छु।’
फ्रान्समा केहि खेलाडी बिरामी परेपछि टोली समस्यामा थियो। सेमिफाइनलमा दुई खेलाडी गुमाएको फ्रान्सका लागि त्यसयता ५ खेलाडीले प्रशिक्षण गुमाएका थिए। तर शनिबार सबै प्रशिक्षणमा सहभागी भएको डेस्च्याम्प्सले जानकारी दिए।
फाइनलअघि फ्रान्सका फरवार्ड करीम बेन्जेमा टोलीमा फर्कने चर्चा चलेको थियो। टोली कतार आएपछि चोट बोकेर फर्केका उनको नाम भने अझैपनि टोलीमा छ। तर प्रशिक्षक डेस्च्याम्प्सले उनी फर्कने कुनै सम्भावना नरहेको बताए।
‘मलाई यस्तो कुरा मन पर्दैन। पहिलो खेलमा लुकास घाइते भएपछि नै मैले टोलीमा २४ खेलाडी छन् भनेर बुझेको छु। घाइते खेलाडीबारे बारम्बार कुरा गर्नु राम्रो होइन। अब खेल हेर्न को आउँछ भन्ने मेरो नियन्त्रणमा रहेन। मेरो लागि फाइनल खेल्न २४ खेलाडी उपलब्ध छन् भन्नेमा प्रष्ट छु,’ डेस्च्याम्प्सले टुंग्याए।