सुर्खेत । मानव सेवा आश्रम सुर्खेत सेवाकेन्द्रको भवन निर्माणार्थ आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले शुक्रवारबाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञ-२०८१ को उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलज्यूले गर्नुभएको छ ।
उद्घाटन समारोहमा समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा विभिन्न राजनैतिक दलका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको छ । महायज्ञमा बिहान कलश यात्रा गरिएको थियो । शोभा कलश यात्रा शुक्रवार बिहान ९ बजे बुलबुल उद्यानबाट सुरु भई मगलगढी चोक, वीरेन्द्र चोक, गणेश चोक, भानु चोक, घन्टाघर चोक हुँदै १२ बजे खुलामञ्चमा पुगेर यात्रा विश्राम गरिएको हो । यात्रामा विभिन्न संघ संस्था, विद्यालय, टोल विकास समिति र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट र विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । जसमा ४ हजार भन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो ।
कलश यात्रा महायज्ञको आरम्भमा हुने विशेष कार्यक्रम हो । जसले धार्मिक, सामाजिक, र सांस्कृतिक महत्त्व राख्दछ । शोभा कलश यात्रा महायज्ञको धार्मिक, सामाजिक, र सांस्कृतिक मूल्यमान्यतासँग जोडिएको छ ।