सुर्खेत। कर्णाली प्रदेशको मानव सेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुर्खेतमा आयोजना गर्न लागेको श्रीमद् भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञ-२०८१ को तयारी पूरा भएको छ । बुधबार वीरेन्द्रनगरको खुला मञ्चमा पत्रकार सम्मेलनमार्फत महायज्ञ मूल समारोह समितिका संयोजक डा‍. नवराज केसीले श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१ को तयारी पूरा भएको जानकारी दिएका हुन्।

उनले सहयोगापेक्षी सडक आश्रित मानवहरूको सेवा स्थायित्वको लागि कर्णाली प्रदेशको आफ्नै भवन निर्माण गर्ने लक्ष्य राखेर महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिए। मानव सेवा आश्रमले कर्णाली प्रदेशका १० जिल्लाबाट हालसम्म ४ सय १५ जनाभन्दा बढी बेसहारा, असहाय र सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरी सेवा प्रदान गरेको संयोजक केसीले बताए।

उनकाअनुसार महायज्ञमार्फत संकलन भएको आवश्यक रकमले देउती बज्यै धार्मिक वनमा मानव सेवा आश्रमको भवन निर्माण गरिनेछ। उनले महायज्ञ मंसिर २१ गते (शुक्रबार) देखि २८ गतेसम्म सञ्चालन जानकारी दिए । शुक्रबार बिहान ९ बजे बुलबुले उद्यानबाट बाजागाजा, सांस्कृतिक झाँकी, शंखनाद, भजनकिर्तन सहित विशाल शोभा कलश यात्राबाट नगर प्रक्रिया गर्ने र त्यसपश्चात महायज्ञको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्ने कार्यक्रम तय भएको मानव सेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

उनका अनुसार महायज्ञको कथा वाचन भागवत भास्कर कमलनयन गौतमले गर्नेछन् भने कथा प्रवचनसँगै ख्याति प्राप्त कलाकारहरूबाट गीत, भजन, देव लीला नृत्यलगायतका विभिन्न प्रस्तुतिहरू प्रस्तुत हुनेछन् । यसैगरी कलाकार किरण केसी, शिवहरी पौडेल, वरिष्ठ पत्रकारहरू टिकाराम यात्री, राजेन्द्र बानियाँ, दिलभुषण पाठक, चर्चित इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेललगायतको उपस्थिति रहनेछ ।

यस्तै कर्णाली प्रदेशमा भएका धार्मिक एवम् पर्यटकीय स्थलहरूको समेत फोटो प्रदर्शनी गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । सहयोग जुटाउने र महायज्ञको सफलताका लागि २५ वटा उप–समितिहरू गठन गरिएको थियो । यी समितिहरूले सेवा र कार्यक्रमको सहजीकरणको लागि कार्य गर्दैछन्। यज्ञमा प्रदेश र जिल्लाका प्रमुख एवं प्रतिनिधिहरूलाई संरक्षक र अभिभावक परिवारमा मनोनयन गरिएको छ ।

यसका साथै मानव सेवा आश्रमका ७ प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रबाट ३० जना अभियन्ता महायज्ञको आयोजनामा जुटिरहेका छन् । सुर्खेत आश्रमले २०७५ सालको माघ महिनामा वीरेन्द्रनगर नगरपालिका वडा नं। १२ स्थित भाडाको घरमा सेवा शुभारम्भ गरेको थियो । यस महायज्ञले कर्णाली प्रदेशमा रहेका असहाय र बेसहारा मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको अध्यक्ष अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0