नारायणगढ। त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको  छ। सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली  सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो पनि खोजी कार्य जारी राखेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले बसको लोकेसन अनुमान गर्न सकिने बताउनुभयो। “हिजो (शुक्रवार) साँझ रातिमा रोकिएको  उद्धारको काम आज (शनिवार) बिहानैबाट सुरु हुँदै छ। वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिन्छ। आज यसको प्रमाणिकरण हुने छ”, उहाँले भन्नुभयो।

गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए। गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ। हराएका बस र यात्रुको खोजेकालागि आवश्यक जस्तो सुकै अत्याधुनिक उपकरणहरू पनि आवश्यकता अनुसार प्रयोगमा ल्याउने रणनीति जिल्ला सुरक्षा समितिले लिएको छ।

“खोजी कार्यमा हामी कुनै कुराको अभाव हुन दिँदैनौ”, प्रनाउ रिमालले भन्नुभयो । अविरल वर्षाका कारण  नारायणगढ-मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान  पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको हो। पहिरोसँगै झरेको ढुङ्गा तेस्रो  बसमा पर्दा एक चालकको मृत्यु भएको छ । त्रिशुलीमा हराई रहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए।  काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३-००६ख- १५१६ नम्बरको एन्जल्स डिलर्स बस त्रिसूलीमा खसेको हो।

गौर काठमाडाैँको बसमा ४१ जना र वीरगन्ज काठमाडाैँको बसमा २४ जना सवार थिए। सवार मध्ये तीन जना नदीमा पौडिएर निस्किए पनि अन्यको अवस्था अहिले सम्म अज्ञात रहेको प्रहरीले छ। नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा – ९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन्।

अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन्। कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन्। दुर्घटनामा परेर पनि बाच्न सफल भएका यात्रु नन्दन दास बसमा आफ्ना अन्य परिवार पनि  रहेका बताउनुहुन्छ।

“ बस पल्टिएर वल्टन खाँदै खादै त्रिशूलीमा खसेको हो। दुर्घटनामा म त भाग्यले बचे अरूलाई बचाउन  सकिएन”, उहाँले भन्नुभयो।

नदीमा पौडिएरै बाच्न सफल जुगेश्वर राययादव पनि अहिले उद्धार कार्यमै भेटिनुभयो। सामान्य घाइते अवस्थामा उपचार पछि उहाँ आफ्ना हराइ रहेका परिवारको खोजीमा आउनु भएको हो।

“जेठी छोरी, नातिनी, नाति, छोरा हराइ रहेका छन्। हामी छ दिन अघि  उपचार गराउन काठमाडौँ आएका थियौँ”, उहाँले भन्नुभयो।

दुई वर्षमा ११ सवारी साधन पहिरोमा पुरियो

नारायणगढ मुग्लिङ सडकमा पहिरोको जोखिम यो पहिलो हैन । यस अघि पनि  पटक पटक पहिरोले समस्या पारि रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय  चितवनका हवलदार घनश्याम चौधरीका अनुसार नारायणगढ मुग्लिङ सडकमा विगत दुई वर्षमा पहिरामा परी  ११ वटा सवारी साधनमा क्षति पुगेको छ । दुई वर्षको अवधिमा शुक्रवार भएको घटना सहित नदीमा सवारी साधन पहिरोमा पुरिएर एकको मृत्यु, ६२ जना बेपत्ता र ६ जना घाइते भएको तथ्याङ्क ट्राफिक प्रहरी कार्यालयमा छ।

यस्तै दुई वर्षकै अवधिमा यस अघि ७ सवारी साधन त्रिशूलीमा नदीमा खस्दा ७ जनाको मृत्यु भएको तथ्याङ्क पनि ट्राफिक प्रहरीसँग छ।

साभार : गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0