रुकुम पश्चिम। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बुधवार राति करिब सवा दश बजे भूकम्प पीडितहरूको अस्थायी टहरा निर्माणको लागि जस्तापाता बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडा नम्वर ८ को घर्ती गाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नम्बर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो। मृत्यु हुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्बर १० का ४६ वर्षीय लोकबहादुर शाही र उहाँको ४२ वर्षीया श्रीमती चुकी शाही, सोही गाउँका ५२ वर्षीया भर्दर सार्की, वडा नम्बर ८ बस्ने ४८ वर्षीया धनराम सार्की र ४७ बर्षीया निर्मला सार्की रहेका छन्। मृतकहरूको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याइएको छ।
दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते हुनेहरूमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षीय रमेश सार्की, वडा नम्बर ८ निवासी ४१ वर्षीय खड्क बहादुर पुन, १४ वर्षीय दलबहादुर पुन, ४५ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगवीर सार्की रहनुभएको छ। त्यसै गरी वडा नम्बर ८ कै ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन दुर्घटनामा परेर घाइते हुनुभएको छ।
घाइते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएको जनाएको छ।