तौलिहवा। कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको हो।
कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ।
रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो। पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन्।