सुर्खेत । मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।
दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
उनी हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका छन् ।