सुर्खेत। जिल्ला कारागार सुर्खेतमा रहेका महिला कैदीबन्दीहरुलाई ‘ब्युटिसियन’ तालिम दिइएको छ। कारागारमा रहेका महिला कैदीबन्दीहरुको सिप विकासलाई मध्यनजर गर्दै नेपाल नाजरेत सोसाइटीको सहयोग, नवज्योति केन्द्र सुर्खेतको आयोजना र कारागार कार्यालय सुर्खेतको समन्वयमा तालिम दिइएको छ।
तीन महिने तालिम अन्तर्गत पहिलो चरणमा ११ जना र चरणवद्ध रुपमा सबै महिलाहरुलाई तालिम दिइने नवज्योति केन्द्र सुर्खेतकी निर्देशक सिस्टर रोसिटाले जानकारी दिइन्। ‘कारागारमा रहेका महिलाहरुलाई सिप विकासको आवश्यकता परेको छ भन्ने कुरा उहाँहरुले हामीलाई माग गर्नुभयो। सोही अनुसार हामीले नाजरेत सोसाइटीसँग समन्वय गरेर तालिमको सुरुवात गरेका छौं,’उनले भनिन्।

उनका अनुसार कारगारमा रहेका सबै महिलाहरुलाई तीन महिने तालिम दिइनेछ। अहिले सुर्खेत कारगारमा कैदी र थुनुवा गरी ४१ जना महिला छन्। मंगलबार तालिमको उद्घाटन गर्दै अधिवक्ता गिता कोइरालाले कारागार बन्दी र थुनुवा गृह मात्रै नभएर एक सुधार गृह समेत रहेको बताइन्।
‘कारागार एक बन्दी र थुनुवा गृह मात्रै होइन एउटा सुधार गृह पनि हो। यहाँ सिकेको सिपले उनीहरुलाई जिविकोपार्जन गर्न सहज हुनेछ,’अधिवक्ता कोइरालाले भनिन्, ‘महिला दिदीबहिनीहरुले दत्तचित्त भएर सिप सिक्नुस्।’ आगामी दिनमा पनि कारागारमा रहेका पुरुष र महिला कैदीबन्दीहरुका लागि सिलाई कटाई तालिमको लागि सहयोगी संस्थाहरुसँग समन्वय भइरहेको अधिवक्ता कोइरालाले बताइन्। उनका अनुसार हप्तामा एक घण्टा कारागारमा कानुनी सचेतना समेत दिइनेछ। कारागार कार्यालय सुर्खेतकी प्रशासक लक्ष्मी खरेलले यस्ता कार्यक्रमहरुले उनीहरुको सिप विकास हुनुका साथै मानसिक रुपमा पनि स्वस्थ रहने बताइन्।
उनीहरुलाई तीन महिनासम्म प्रशिक्षक रितु परियारले सिप सिकाउनेछिन्। ‘ब्युटिसियन’ तालिममा उनीहरुले फेसियल, क्लिजेल, भ्रेडिङ, क्लेजिङ, कपाल स्टेट, म्यानिकेयर (मसाज), पेनिकेयर, टाउको मसाज, ट्रिटमेण्ट, दुलही सिंगार, हेयर कटिङ्ग, मेहन्दी र कपाल हाइलाइट्स सम्बन्धी सिपहरु सिक्ने नवज्योति केन्द्र सुर्खेतकी सुपरभाइजर जरमायाँ बाठाले जानकारी दिइन्। तालिम सिकेर कारागारबाट समुदायमा फर्किसकेपछि त्यसलाई दैनिक जीवनमा प्रयोग गर्न सहज भएको भन्दै सहयोग र आयोजक संस्थालाई उनीहरुले धन्यवाद समेत दिएका छन्। उद्घाटन कार्यक्रममा नवज्योति केन्द्रकी देवि कार्की, सिलाईकटाई प्रशिक्षक देबा राई लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0