काठमाडौं। चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आजदेखि व्रत सुरु भएको हो।

यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ। त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न सुरु गरिएको हो। समितिका सदस्य  प्रा.डा. देवमणि भट्टराई गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन्।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।  साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताउनुभयो।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0