विश्वकै पहिलो मानव-रोबोट पत्रकार सम्मेलन गत शुक्रबार, जुलाई ७ मा स्विट्जरल्याण्डको जेनेभामा आयोजना गरिएको छ।
पत्रकार सम्मेलनमा कुल ९ वटा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले युक्त मानवस्वरुप रोबोट (ह्युमनोइड रोबोट) हरु सहभागी भएका थिए। ती रोबोटहरुले पत्रकारद्वारा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए।
AI For Good नाम दिइएको उक्त रोचक पत्रकार सम्मेलनमा रोबोटसँगै त्यसका निर्माताहरु पनि उपस्थित भएका थिए।
विश्वलाई आर्टिफिसियल इन्टेलिजेन्स रोबोटको बारेमा परिचित गराउनका लागि उक्त पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ।
ती रोबोटहरु नयाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर बनाइएका हुन्। भविष्यमा आम मानिसलाई रोग तथा भोकजस्ता समस्याहरुको समाधानमा मद्दत गर्नका लागि यी रोबोटको प्रयोग गर्ने योजना समेत छ।
पत्रकारका प्रश्नको उत्तर
उक्त सम्मेलनको प्रश्नोत्तरको भिडियो पनि सोसल मिडियामा सार्वजनिक भएको छ। पत्रकारहरुले गरेका प्रश्नहरुको जवाफमा निलो नर्स पहिरन लगाएको ग्रेस नामक मेडिकल रोबोटले आफुले मानव सहायकको भूमिका निभाउने बाचा गरेको छ। साथै आफूले कुनै पनि काममा समस्या पैदा नगर्ने आश्वासन पनि दिएको छ।
ग्रेसका निर्माता बेन गोएर्टजेलले पनि आफ्नो आबाजबाट उक्त बाचाको पुष्टि गर्ने कोसिस गरेका थिए र आफू यो कुरामा विश्वस्त रहेको बताएका थिए।
अमेका रोबोटको रोचक जवाफ
अमेका नामक रोबोटलाई भविष्यमा आफ्नो मालिकका विरुद्ध उसको विद्रोह गर्नसक्ने सम्भावनाका बारेमा सोधिएको थियो। त्यसको जवाफमा उसले आफ्नो मालिक विल ज्याक्सनको प्रसंसा गर्दै आफू सदैव उनीप्रति बफादार रहने बाचा गर्यो।
साथै त्यस्तो नसोच्न पनि पत्रकारहरुलाई अनुरोध गर्यो। भविष्यमा आफूजस्तै हजारौं रोबोट बनाउन सकिने उसले बताएको थियो।
ऐदा नामको एक कलाकार रोबोट चित्रकारितामा अब्बल छ भने डेसडेमोना नामक रोबोट रक गीत गायनमा पोख्त छ।
डेसडेमोना संसारलाई एक खेल मैदा हो भन्छ र आफ्ना सीमाहरुको साटो सम्भावनाहरुमा विश्वास राख्नुपर्दछ भन्ने उसको तर्क छ।
सोफिया नामक रोबाटका अनुसार पढाउने काममा मानिसको तुलनामा रोबोट अब्बल हुन्छन्। जब सो रोबोट निर्माताले सोफियाको उक्त तर्कको खण्डन गरे तब सोफियाले आफ्नो तर्कको पुष्टि गर्ने प्रयास गर्दै रोबोटले प्रभावकारी ढंगबाट काम गर्नसक्ने र मानिसलाई सहयोग गर्न सक्ने बतायो।
सम्मेलनमा विभिन्न प्रश्नहरुको जवाफ दिंदै रोबोटहरुले विश्वव्यापी समस्याको समाधानमा आफुहरुले सहयोग गर्नसक्ने, मानव रोजगारी नचोर्ने तथा मानिसका विरुद्ध विद्रोह पनि नगर्ने बताए।
स्रोत : आनलाइन खबर