तनहुँ। पृथ्वीराजमार्गको दमौली-पोखरा खण्ड अबरुद्ध भएको छ। आज साँझ ६ बजे म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको हो।
करीब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो।
पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीसमेतको बिपद् व्यवस्थापन प्रहरी टोली, ईलाका प्रहरी, कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षकसमेतको प्रहरी टोली खटिई गएको छ।
राजमार्ग सडक खुलाउनका लागि चाईनिज कन्ट्रक्सन, स्थानीय पालिका तथा अन्य मानिससमेतको सहकार्यमा उक्त पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागि बैकल्पिक बाटो दमौली भोर्लेटार चोकबाट कलेस्ती पोल्याङ हुँदै कास्कीको लागि डाईभर्सन गरिएको प्रनाउ खाँडले जानकारी दिनुभयो। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।