वालिङ। बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा पछिल्लो समय डढेलोका घट्नाहरु बढ्न थालेका छन्। सुख्खा समय शुरु भएसँगैे डढेलोका घट्नाहरु बढेका हुन्। डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारीअनुसार अहिलेसम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षति पुर्याएको जनाइएको छ। डढेलोका कारण भएको क्षतिको अनुमान सार्वजनिक गर्न कठिनाई भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिबंश न्यौपानेले बताउनुभयो।
जिल्लाका ११ पालिकाका ४२ ठाउँमा डढेलो लागेको उहाँले जानकारी दिनुभयो। डढेलोबाट वनजंगलसहित अन्य बस्तीहरु जोगाउन डिभिजनले सचेतना अभियान चलाउँदैआएको न्यौपानेको भनाई छ।
दरबन्दीअनुसारको बन रक्षक नभएका कारण डढेलो नियन्त्रणमा कठिनाई हुनेगरेको जिल्ला वन कार्यालयको भनाइ छ। डढेलो नियन्त्रणमा हामीलाई सुरक्षा निकायबाट सहयोग हुँदैआएको सुचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । ‘सीमित साधनस्रोत र जनशक्तिको अभाव भएको उहाँको भनाइ छ। जिल्लामा वन रक्षकको ३३ दरबन्दी भए पनि ११ जना मात्रै कार्यरत रहेको जिल्ला वन कार्यालयको भनाइ छ।
जंगलमा लागेको डढेलोले के कति वन्यजन्तुमा क्षति गरेको छ भन्ने बिषयमा डिभिजन वन कार्यालय स्याङ्जा अन्योलमा रहेको छ । रानीबन जंगलमा लागेको आगोका कारण आँधीखोला गाउँपालिका -१ अर्घौदीमा २ घर ४ गोठ जलेर नष्ट भएका छन् । मानवीय र पशुचौपायाको क्षति हुनबाट जोगिएको छ।
नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा अन्य बस्ती बचाउन सफल भएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
दिनहुँजसो स्याङ्जामा आगालागीका घट्नाहरु भइरहेका छन्। अझै पनि आगालागीका घट्नाहरु हुनसक्ने भन्दै सबै जिल्लाबासी सचेत रहन जिल्ला वन कार्यालयले सबैलाई अनुरोध गरेको छ।
यसैबीच स्याङ्जाको वालिङ नगरपालिका -५ पाँडेथोक र वडा -६ को पाखुरेमा खानेपानीको समस्या भएको छ। वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो। यसबाट ३७ परिवार प्रभावित बनेका छन्।
छरछरे-पाँडेथोक सिँचाइ तथा खानेपानी योजना अन्तर्गतको करिब एक किलोमिटर पाइपमा लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताउनुभयो। मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएपछि अहिले वैकल्पिक रुपमा पानी ल्याउने काम भइरहेको उहाँको भनाइ छ।