भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारीका माध्यमबाट नागरिकको गरिबी घटाउन सकिने बताउनुभएको छ। सहकारीको माध्यमबाट सदस्यलाई आर्थिक उपार्जनमा लगाएर आर्थिक स्रोतमार्फत गरिबी हटाउन सकिने उहाँले बताउनुभएको हो।
धनकुटा नगरपालिकामा रहेको गोकुण्डेश्वर बालमन्दिर नमुना माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटनको क्रममा मन्त्री राईले सो कुरा बताउनुभयो। देशको अर्थतन्त्र निराशाजनक रहेकाले मन्त्री राईले यसलाई सहकारीका माध्यमबाट देशमा उपलब्ध स्रोत र साधनको प्रयोग गरेर नागरिकको आयआर्जनको बाटो सुधार गर्न सरकार लागिपरेको बताउनुभयो। सहकारी पैसा सङ्कलनमा मात्र केन्द्रित भएकाले उद्यमशीलतामा लाग्न र लगाउन सहकारीलाई आग्रह गर्नुभयो ।
राजनैतिक व्यवस्था परिवर्तन भए पनि देशमा सुशासन र आर्थिक विकास हुन नसकेकाले नागरिकको अवस्था अझै दयनीय रहेको उहाँको भनाइ छ। मन्त्रीद्वारा उद्घाटन गरिएको नयाँ भवन नेपाल सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत एक करोड ७० लाख ६० हजारको लागतमा निर्माण गरिएको हो। नमुना विद्यालय निर्माणका लागि नयाँ भवनले सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले विश्वास व्यक्त गर्नुभयो।