आज फागुन ७ गते नेपालीले अधिकार पाएको अर्थात् प्रजातन्त्र स्थापना भएको दिन। मुलुकभर नै ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस धूमधामका साथ मनाइँदै छ। वि.सं. २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण पनि यो दिन नेपालीमाझ चिरस्मरणीय छ। जनक्रान्तिकै फलस्वरूप जहानियाँ राणा शासनको पतन भएर मुलुकमा प्रजातन्त्रको शुभबिहानी सम्भव भएको तथ्य हामीसामु छ। यसका निम्ति महान् शहीदहरूको ठूलो शहादत छ भने हजारौँ हजार क्रान्ति योद्धाले बुद्धि, विवेक, श्रम र पसिना खर्चेका छन्।

२००७ सालको क्रान्ति सफल पार्न नेपाली कांग्रेस र बीपी कोइरालालगायत शीर्ष नेतृत्वलगायत ठूलो राजतनीतिक तह र तप्काको योगदान अमूल्य छ। जहानियाँ राणा शासनबाट जनता मात्र रैती हुनुपरेको थिएन, राजतन्त्र नै बन्धकजस्तै बन्नु परेको थियो। त्यो बन्धनलाई तोड्न राजा त्रिभुवनले क्रान्तिलाई साथ दिएको अनुपम ऐतिहासिक परिघटनाको सफल दिनसमेत हो फागुन ७। मुलुक गणतान्त्रिक नयाँ युगमा प्रवेश गरेको छ र नयाँ युगका निम्ति चेतनाको जग बसाउन सात सालको क्रान्तिले बृहत् महत्व राख्दछ। त्यसैले फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा निरन्तर हर्षोल्लासका साथ मनाइन्छ। यो दिनले नागरिक अधिकार, मुलुकको समृद्धिको साथै राष्ट्र र राष्ट्रियताप्रतिको दृढ प्रणका दिनका रूपमा लिइनुपर्दछ। सबै नेपालीले यस दिनप्रति गौरवानुभूतिसहित उत्सवमा सहभागी हुनु इतिहासप्रतिको न्यायसमेत हो।

यो ऐतिहासिक दिनका सन्दर्भमा सङ्घीय सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्य रूपले मनाउन अपिल गरेको छ। त्यसै अवसरमा यस दिवसलाई मुलुकभरि साहित्यिक, सांस्कृतिक, शैक्षिकलगायतका विभिन्न रचनात्मक गतिविधिसहित मनाइने कार्यक्रम तय गरिएको छ। यो दिवस भव्य रूपमा मनाउन सङ्घमा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा नै समारोह समिति नै गठन गरिएबाट यो दिवसलाई राष्ट्रले प्रदान गर्ने महत्व स्पष्ट हुन आउँछ। विभिन्न ज्ञात, अज्ञात शहीदहरूको जीवन आहुतिकै कारण आज हामी नेपाली प्रजातन्त्रिक अधिकारहरूको उपभोग गरिरहेका छौंँ। यस दिनमा शहीदप्रति कृतज्ञता व्यक्त गर्नु सम्पूर्ण नेपालीको दायित्व हो। शहीदले मुलुक तथा जनताप्रति त्याग भाव नराखेको भए अझै कैयौँ वर्ष नेपाल जहानियाँ राणा शासनको अधीनमा रहनुपर्ने थियो। यसैको मूल मर्म नै प्रजातन्त्र दिवस मनाउनुको अर्थमा समाहित रहेको भन्न सकिन्छ।

मुलुकमा प्रजातन्त्र स्थापनाको ७३ वर्ष भइसक्दा पनि अझै कैयौँ विषय तथा क्षेत्रमा हामी पछौटे अवस्थामै छौंँ र यो हामी सबैले मनन गर्नुपर्ने गम्भीर विषय हो। सात दशकअघि मुलुकले प्रजातन्त्र उपभोगको सुरुवात गरिरहँदा हामीभन्दा धेरै कुरामा पिछडिएका कतिपय मुलुकको आर्थिक तथा समृृद्धिको पाटो वर्तमानमा निकै उच्च रहेको विश्वसामु यथार्थ छ। यस सन्दर्भमा औंँल्याउनुपर्दा विकास, समृद्धिका पक्षमा हामी पछि परेको कटु यथार्थ हो। मुलुक आर्थिक गतिविधिका साथै विकास, निर्माणलगायतका पक्षमा जुन गतिले अगाडि बढ्नुपर्ने थियो, त्यस गतिमा पक्कै पनि अगाडि बढ्न सकेको छैन। भ्रष्टाचार, कुशासन, हरेक क्षेत्रमा अति राजनीतीकरण, नातावाद, अराजकता आदि विकृति र कुशासन मुलुक पिछडिनुका मुख्य कारण हुन सक्छन्। यस्ता तमाम विकृति र विसङ्गतिबाट मुक्त भई समृद्ध भविष्यका निम्ति प्रतिबद्धता व्यक्त गर्ने सुनौलो दिनसमेत हो फागुन ७।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा अब आर्थक विकासको मार्गचित्र स्पष्ट देख्न सक्ने चाहना स्वाभाविक हो । मुलुकलाई समृद्धशाली राष्ट्र बनाउने प्रण सबै नेपालीले गर्नु आवश्यक देखिएको छ। सात दशकभन्दा बढीको संस्थागत लोकतान्त्रिक प्रणालीको उपयोग गरेर जनताको जीवनस्तर उठाउन सबैको सहकार्य त्यत्तिकै जरुरी छ। प्रजातन्त्र दिवसको यस पुनित दिनमा मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्ने तथा यसलाई व्यवहारमा उतार्ने महत्वपूर्ण दिन हो भन्ने बिर्सन मिल्दैन। विगतमा भएका गल्ती, कमी, कमजोरीमा सुधार गरेर आगामी दिनमा मुलुकलाई विकसित तथा समृद्ध बनाउने शपथ लिने दिनका रूपमा समेत यो दिवसलाई लिइनुपर्दछ। शहीदहरूको सपना साकार पार्न नेपाल र नेपालीको मुहार फेर्नु अनिवार्य छ। यो महान् दिन ल्याउने योगदान गर्ने ज्ञात, अज्ञात शहीदप्रति श्रद्धासुमनसहित सबै नेपालीलाई ७३औंँ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0