काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिनुभएको हो।
सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको सभापति लामिछानेले बताउनुभएको छ। पार्टीका मन्त्रीले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने सभापति लामिछानेले जानकारी दिनुभएको छ।
रास्वपा सरकारबाट बाहिरिएपछि पार्टीबाट बनेका सबै मन्त्रीले राजीनामा दिनेछन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल हुनुहुन्छ।
त्यसैगरी रास्वपाकै तर्फबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नु भएको छ। रास्वपाका मन्त्रीहरु खनाल, अर्याल र राज्यमन्त्री कार्कीले माघ ३ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।
रास्वपाका सभापति लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई माघ १३ गते उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापतिसमेत नरहने फैसला गरेको थियो। माघ १५ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पुनः नागरिकता प्राप्त गरेपछि पार्टीले लामिछानेलाई केन्द्रीय सदस्य हुँदै पार्टी सभापतिमा मनोनित गरेको थियो।