पोखरा। पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ। आइतबार बिहान भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए। दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ३८ जनाको शव पहिचान भएको हो।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमका लागि तयारी हुन लागेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले काठमाडौंबाट हेलिकोप्टरमा चिकित्सकको टोली आइपुगेका र अब सानो छलफल गरेर पोस्टमार्टको कार्य अगाडि बढाइने जानकारी दिनुभयो।

यसैगरी, दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव पोस्टमार्टमपछि आजै परिवारलाई जिम्मा लगाइँदै छ भने पहिचान नखुलेका शव काठमाडौं पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो। साथै, दुर्घटनामा परी वेपत्ता चार जनाको सोमबार बिहानैदेखि खोजि भइरहेको छ।

माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोतखोरकोटोलीसहित विमानस्थको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0