धनगढी। तराईका भूमिपुत्र आदिवासी जनजाति थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । तीन दिनसम्म धूमधामसँग मनाइने यो पर्वलाई थारु समुदायका मानिसले पुस अन्तिम दिनबाट मनाउने गर्दछन् । माघ यो समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो।
भोलि माघ १ गतेबाट थारु सम्वत् २६४६ सुरु हुने जनाइएको हो। माघ पर्व सुरु भएसँगै थारु गाउँवस्तीमा उल्लास बढेको छ । गाउँघर माघ सम्बन्धित गीतले गुञ्जायमान छ।
माघ पर्वको पहिलो दिन वर्षदिनभरको दुःख, पीडा बिर्सेर मिठो मसिनो खाएर रमाउने चलन छ। यो दिन सबैको घरमा अनिवार्य रूपमा सुँगुरको मासुलगायतका परिकार पाक्ने गर्दछ । माघको पहिलो दिनलाई ‘जिटा मर्ना’ पनि भन्ने गरेको पाइन्छ।
थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीकाअनुसार पहिलो दिन गाउँघरमा मीठो खाने, नाचगान गरेर रमाइलो गर्ने चलन छ। माघमा थारु समुदायका मानिसले मघौटा नाच नाच्ने, डफको तालमा धमार र ढुमरु गीत गाउने गर्दछन्। कतै–कतै रातभर नाचगान गरेर जाग्राम बस्ने चलन पनि छ।
माघ १ गते माघ पर्वको सबैभन्दा विशेष दिन र थारु समुदायको नयाँ वर्ष हो। यो दिन बिहानै नदी, तलाउ, पोखरीमा नुहाउने, पुर्खा, मान्यजनबाट आशीर्वाद लिने गरिन्छ। नयाँ–नयाँ कपडा लगाएर घरपरिवार, इष्टमित्र, आफन्तको घरमा गएर सेवा ढोग लाग्ने चलन छ।
यसैगरी, नयाँ वर्ष रहेकाले एक अर्काबीच खुसीयालीसहित शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको दिन ढिक्री, मासु, तरुललगायतका परिकार खाने चलन रहेको छ।
पर्वको अन्तिम दिन घरपरिवार, गाउँ समाजको नयाँ नेतृत्वकर्ता चयन गर्ने गरिन्छ। यो दिनलाई ‘खोज्नीबोज्नी वा माघी देवानी’ भन्ने गरिन्छ । यसैगरी, खिचडी भात खाने र खिचडी मेलापात गर्न जाने गरेकाले ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ।
माघ पर्वमा थारु समुदायका मानिसले बितेको वर्षदिनको समीक्षा र आगामी वर्षभरका लागि योजना बनाउने गर्दछन्। विगतमा माघ पर्वको बेलामात्रै तत्कालीन कमैयाले बिदा पाउने गरेकाले मुक्त कमैयाले यस पर्वलाई स्वतन्त्रताको पर्वको रूपमा पनि मनाउने गर्दछन्।
माघ पर्वको अवसरमा विभिन्न ठाउँमा माघ मेला तथा महोत्सव आयोजना गरिएका छन्।