राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए। भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ।

पीडित भनिएकी किशोरीले आफूमाथि सन्दीपले पटक–पटक बलात्कार गरेको बयान दिएकी थिइन्। सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए।

विदेश जान रोक, पीडितलाई प्रलोभनमा पार्न नपाइने
अदालतले लामिछानेलाई विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यकाबाहिर खेल्न जानुपरे वा उपत्यका छाड्नुपरे प्रहरीलाई सूचना दिएर जान पाउने अदालतले आदेश गरेको छ। त्यसैगरी जाहेरवाला वा पीडित परिवारसँग कुनै पनि किसिमको अन्तर्क्रिया भेटघाट गर्न रोक लगाउनुका साथै कुनै पनि किसिमको दबाब, प्रभाव र प्रलोभनमा नपार्न पनि आदेशमा भनेको छ।

सामाजिक सञ्जालमा पनि कुनै पनि किसिमको लामिछानलाई टीकाटिप्पणी गर्न रोक लगाइएको छ। यस्तै प्रहरीले उनको गतिविधिलाई निगरानी गर्न सक्ने, विद्युतीय निगरानीसमेत गर्न सक्ने आदेश गरेको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए । प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0