सुर्खेत। पाटे बाघको कल्पना गरेर पहेंलो रंगमा कालो पाटा बनाएर सुर्खेतको वीरेन्द्रनगर भैरवस्थानस्थित शहीद स्मृति पार्कमा राखिएको एउटा बाघको ढुंगेमूर्तिले अहिले धेरैको ध्यान खिचेको छ। बाघजस्तै देखाउने प्रयास गरेपनि मूर्तिको मुखाकृति नमिलेको भन्दै सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा यस्को लागतका विषयमा पनि विभिन्न अड्कल, अनुमान र आलोचना हुँदै आएको छ।
आइतबार सम्म उक्त मूर्तिमा कुँदिएको बाघको मुखाकृति र स्वरुपका विषयमा सामाजिक सञ्जालमा सुर्खेती बाघ भन्दै खिसिट्यूरी गर्दा गर्दै भाइरल हुँदै गएको थियो। तर सोहि मूर्तिका विषयमा नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्ययले आफ्नाे फेसबुकमा १३ लाखको बाघ भन्दै दाबी ठोकुवा गरेपछि विषय अन्तै मोडियो।
उपाध्ययले सोमबार बेलुकी ६बजेर २० मिनेटमा आफ्नाे फेसबुकमा उक्त मूर्तिका बारेमा शेयर गर्दै गरिएको पोष्टमा मंगलबार दिउँसोसम्म ७ हजारभन्दा बढिले इमोजीमार्फत रियाक्ट गरेका छन् भने १ हजारभन्दा बढिले कमेन्ट र ६५ जनाले शेयर गरेका छन्। सेवा निवृत्त सरकारी कर्मचारी उपाध्यायले सरकारी व्यथिति, अनियमितता, भ्रष्टाचार दर्शाउन बेलाबखत यस्ता पोष्टहरु साझा गर्दै आएका छन्।
मन्त्रालयकै सचिव भइसकेका र त्यहिमाथि फेसबुकमा ३ लाख ९ हजारभन्दा बढि फ्लोअर रहेका उपाध्यायले यस्तो पोष्ट साझा गरेपछि त्यसैलाई पत्याएर लहलहैमा बगिहाल्नेहरुको संख्यापनि कम छैन्। तर उपाध्यायका सामाजिक सञ्जालमा आउने दाबीसहितका पोष्टहरुमध्ये अधिकांशजसो ठोस सबुतप्रमाण र विश्वासिला श्रोत बिनाका हुने गरेका छन्। सुर्खेती बाघकै मूल्य १३ लाख रहेको भन्ने उनको दाबी त्यसैको एउटा उदाहरण हो।
सामाजिक सञ्चालमा दाबी गरिएझैं बाघको मूर्ति निर्माणमा १३ लाख खर्च भएको भन्ने हल्लाको भैरम सामुदायिक वनका अध्यक्ष अमर कार्कीले ठाडै खण्डन गरेका छन् । पार्कमा बनाइएका दुईवटा बाघका मूर्तिमध्ये पातलो बाघको मूर्ति वीरेन्द्रनगर वडा नं २ फँलाटेका स्थानीय कलाकारले जम्मा ३५ हजारमा बनाएको उनले दाबी गरे।
‘पहिला त उहाँ ४० हजार भन्नु भएको थियो, फिनिसिंग राम्रो नभएको भनेर हामीले ३५ हजारमात्रै भुक्तानी दिएका हौ ।’ अध्यक्ष कार्कीले भने, कलाकारले मिहिनेत गरेर बनाइसकेपछि उनलाई पनि मर्कामा पार्नु त भएन नि । ’ ढुगांको टुक्रा टुक्रा जोडेर बनाएको पातलो बाघको पुरानो मूर्तिलाई पार्कमा घुम्न आउने बालबालिकाले चलाउँदा टुटफुट भएपछि मर्मत गरेर अलगै राखिएको उनले जानकारी दिए।
अहिले पार्कमा रहेको घैलाबाट पानी खन्याउँदै गरेको महिलाको मूर्ति र भाइरल बनाएको नयाँ बनाएको बाघको मूर्ति गरेर दुईवटा मूर्ति बनाउँदा एक लाख ५ हजार रुपैयाँ भुक्तानी गरेको वनका अध्यक्ष कार्कीले दाबी गरे । महिलाको मूर्तिका लागि ५५ हजार र बाघको मूर्तिका लागि ५० हजार भुक्तानी दिएको बताउँदै उनले बनाउनेले एक लाख ११ हजार तोकेपनि मोलमोलाइमा रकम घटाएर भुक्तानी दिइएको जिकिर गरे । ‘खै कस्ले यस्तो हावाको हल्ला फैलाउँछन्, उनले भने, हामी आफै दगं परिरहेका छौ।
’ बाघको मूर्ति बनाउने जिम्मा लिएका मूर्तिकार कृष्णबहादुर श्रेष्ठले पनि आफुले उक्त मूर्ति कुँदेवापत ५० हजार रुपैयाँ नै पारिश्रमिक लिएको पुष्टि गरेका छन् । मूर्ति बनाउने ढुंगाहरु ठूलो ठूलो भएको र परम्परागत घन र छिनाले छिनाल्दै बनाउँदा मुखाकृति त्यस्तो हुन पुगेको उनले प्रतिक्रिया दिए । ‘त्यो ५० हजारकै हो बाघ हो १३ लाखको होइन।
’ श्रेष्ठले भने, ‘अर्डर दिनेको चित्त नबुझेको वा मूर्तिमा केहि समस्या भएको खण्डमा हामी नयाँ मूर्ति बनाएर दिन्छौं ।’ प्रदेश सरकारले हालसम्म यस पार्क निर्माणका लागि ३ करोड रकम खर्च गरिसकेको छ। शुरुमा २ करोड रकम विनियोजन भएतापनि एक करोड ३० लाख खर्च भएको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारका अनुसार खर्च भएर बचेको पैसामा केहि रकम थप गरेर वरिपरि पर्खाल लगाइएको हो। अघिल्लो वर्ष ५० लाखको टेण्डर गरेकोमा १ सय ६० मिटर पर्खाल सम्पन्न गरेको र ९० मिटर काम गर्न बाँकी रहेको छ । यसका लागि यस वर्ष १ करोड टेण्डर प्रक्रियामा रहेको बताइएको छ। कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा शहादत्त भएका शहीदहरुको स्मृति र सम्मानमा प्रदेश सरकारले यो पार्क बनाएको हो। पार्क निर्माण हुदै गर्दा हरेक शनिबार र विदाको दिन पार्कमा घुम्न, टिकटक तथा भीडियो बनाउनेहरुको ताँती लाग्ने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
1
+1