पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका-१२, बाँके जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा लालबन्दी नगरपालिकामा कार्यरत सब-इन्जिनियर रोशनकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति १० बजेतिर पूर्वतर्फ गइरहेको ना १ ब २५५६ नम्बरको सरकारी मोटरसाइकल दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका-३, बस्ने ३० वर्षीय यादवको मृत्यु भएको हो। यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

यादवले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिएको वा अन्य सवारीले ठक्कर दिएर दुर्घटनामा परेको हो भनी प्रष्ट भइसकेको छैन।

इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले मोटरसाइकलको अगाडिपट्टिको भागमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले दुर्घटनाका सम्वन्धमा अनुसन्धान गइरहेको बताउनुभएको छ।

यस्तै, हरिपुर नगरपालिका-८, जगतपुरमा ब्रोइलर कुखुरा बोकेको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

राति ८ बजेतिर प्रदेश २-०३-००१ च २३९६ नम्बरको बोलेरो पिकअपले ठक्कर दिँदा साइकलमा सवार हरिपुर नगरपालिका २ बस्ने ३५ वर्षीय चक्रेश्वर चौधरीको मृत्यु भएको हो।

चौधरीलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार भएको बोलेरोलाई प्रहरीले लालबन्दी नगरपालिका-१७, रानिगन्जस्थित भित्री सडक खण्डबाट नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0