सुर्खेत। नवनिर्वाचित कर्णाली प्रदेशसभा सदस्य गोमता विकले सोमवार पद तथा गोपनीयताको शपथ लिइन्। समानुुपातिक सांसद बनेकी उनको संसदीय फाँटमा यो नै पहिलो अनुभव हो। मुलुक र जनताका नाममा शपथ लिएकी उनी लक्षित वर्गका सवालमा संसद्मा आवाज बुलन्द गर्ने बताउँछिन्। उनी जनताको हितमा काम गर्ने उत्साहका साथ संसद्मा छिरेकी छन्। ‘संसद्मा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित हुनेछ,’ उनले भनिन्, ‘त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउनुपर्नेछ।’ उनले आफूले सिक्दै जनताको हितका सवालमा काम गर्ने बताइन्। सांसद विकमा विकास निर्माणको कामसँगै नीति निर्माणमा उल्लेखनीय योगदान गर्ने हुटहुटी छ। प्रदेशवासीको हित हुने जुनसुकै काममा आफू संसद्मा सक्रियतापूर्वक लाग्ने उनी बताउँछिन्।
कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले पनि शपथ लिएकी छन्। उनी पनि समानुपातिक सांसद हुन्। पार्टी राजनीतिमा सक्रिय शाहीको संसद्मा यो पहिलो अनुभव हो। आफ्नो दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्ने उनले बताइन्। शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ। सोही एजेन्डाका पक्षमा संसद्मा आवाज उठाउने उनको योजना छ। ‘मेरो पार्टीका एजेन्डा र जनतासँग चुनावताका गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास रहनेछ,’ उनी भन्छिन्, ‘अहिले जुन उत्साह छ यो कार्यकालभरी नै कायम रहनेछ।’ शाही प्रदेशसभामा सुर्खेतबाट प्रतिनिधित्व गर्छिन्। संसदीय फाँटमा अनुभवी अग्रजहरूबाट सिक्दै सांसदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने उनले बताइन् । उनले भनिन्, ‘सांसदहरू अब नयाँ ढङ्गबाट अगाडि बढ्न जरुरी छ, त्यसका लागि जनताले ठाउँमा पुु¥याएका छन्।’
कर्णाली प्रदेशसभामा नेकपा ‐एकीकृत समाजवादी) पार्टीकी एक्ली सांसद हुन, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । समानुपातिक सांसदमा चयन भएकी उनले जनताका आवाज बोकेर आएको बताइन् । उनी भन्छिन्, ‘जनताले काम गर्न प्रदेशसभामा पठाउनु भएको छ, उहाँहरूकै हितमा काम गर्न प्रतिबद्ध रहनेछु ।’ प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताइन् । उनको पनि कानुन निर्माण र विकासका सवालमा काम गर्ने हुटहुटी छ । सिमान्तकृत समुदाय र महिलाका सवालमा आवश्यक नीतिगत व्यवस्थाका लागि पैरवी गर्ने उनी बताउँछिन् । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनले सुनाइन्।
हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बनेकी नेकपा ‐माओवादी केन्द्र) की जुम्कित लामाले सोमवार पद तथा गोपनीयताको शपथ लिइन्। शपथ समारोहमा मौलिक भेषभूषामा सजिएर आएकी लामा निकै उत्साहित देखिन्थिन्। पहिलो पटक प्रदेशसभा सदस्य बनेकी उनले जनताले जुन अपेक्षा र आशाले आफूलाई संसद्सम्म पु¥याएका छन् सोहीअनुरूप काम गर्ने बताउँछिन्। जनजाति समुदायको प्रतिनिधित्व गर्दै संसद्मा आएकी उनी भन्छिन्, ‘जनताका अपेक्षाअनुसार काम गर्नेछु, मेरो भूमिकाबाट कसैले निराश हुनुपर्ने छैन।’ हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताइन्। संसद्मा जनताको आवाज बन्ने प्रतिबद्धतासहित आएको उनको दाबी छ। ‘उहाँहरूका अपेक्षा, आकांक्षा र विश्वासको ख्याल गर्नेछु,’ उनले भनिन्, ‘जनताको आवाज प्रदेशसभामा राख्नेछु।’ उनले प्रदेशसभामा रहेर दलित, जनजाति, महिलालगायत पछि परेका वर्ग समुदायका सवालका लागि संविधानमा लेखिएका विषयलाई कार्यान्वयन गराउन ऐन÷कानुन निर्माणमा भूमिका खेल्ने बताइन्।
दैलेख निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारी कर्णाली प्रदेशमा सबैभन्दा कम उमेरका सांसद हुन्। उनीसँग यसअघि पाँच वर्ष स्थानीय सरकार हाँकेको अनुुभव पनि छ। नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित भण्डारी भन्छन्, ‘मेरो मुख्य जोड नीतिगत कुरामा हुनेछ।’ सांसदको प्रमुख दायित्व र जिम्मेवारी कानुन निर्माण भएकाले पहिलो प्राथमिकता यसमै रहने उनले जनाए। त्यसका साथ साथै जनताका आधारभूत आवश्यकताको परिपूर्ति र विकास निर्माणमा पनि आफ्नो भूमिका सशक्त रहने भण्डारी बताउँछन्। ‘जनताकाबीचमा विकास निर्माणका लागि केही बाचाहरू गरिएको छ, त्यसलाई पूरा गर्नेमा पनि म जिम्मेवार भएर लाग्नेछु,’ उनले भने। स्थानीय सरकार सञ्चालनको अनुभवलाई प्रदेशको विकासका लागि प्रयोग गर्ने उनको चाहना छ।
जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुन्। यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झरेका छन्। उनले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताए। ‘मैले पाएको जिम्मेवारी र भूमिकालाई इमान्दारितापूवर्क पूरा गर्नेछु,’ उनले भने, ‘जनताप्रति प्रतिबद्ध भएर मुलुक परिवर्तनका लागि काम गर्नुपर्ने छ।’ शाह विकाससँग जनतालाई जोड्ने अभियानका साथ काम गर्ने दाबी गर्छन्। पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताए। उनले भने, ‘जनताले जुन अपेक्षाका साथ मलाई यस ठाउँमा उभ्याउनुभएको छ त्यो भरोसामा कमी हुन दिने छैन।’ जनताको अनुकूल हुनेगरी सेवा–सुविधाको प्रबन्ध गर्न पहल गर्दै जनपक्षीय कानुन निर्माणमा आफूले सशक्त भूमिका निभाउने उनको भनाइ छ।
जुम्ला प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाए। आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उनले कर्णालीको विकासका लागि योगदान गर्ने बताए। ‘नीति निर्माण गर्ने र जनताका आवाज बोल्ने ठाउँमा आएको छु,’ यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु,’ उनले भने। पछाईंले नीति र योजना निर्माणमा आफ्नो भूमिका केन्द्रित हुने बताए। ‘हामीले लडेर परिवर्तनका लागि ल्याएको यस व्यवस्थाको नीति निर्माण गर्ने तहमा आउँदा उत्साहित छौँ’, उनी भन्छन्, ‘जनताको पक्षमा काम गर्नेको विकल्प छैन, उहाँहरूकै आवश्यकता अनुसारका नीति र योजना बनाउन अबको पाँच वर्ष मेरो भूमिका रहनेछ।’
कर्णाली प्रदेशसभाका सांसदहरूले सोेमवार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका हुन्। ३९ जना प्रदेशसभा सदस्यलाई ज्येष्ठ प्रदेशसभा सदस्य विनोदकुमार शाहले प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ खुवाए छन्। त्यसअघि शाहलाई सोमवार बिहान ११ बजे प्रदेशप्रमुख तिलक परियारले शपथ खुवाएका थिए। ४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ। कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन्। शपथ ग्रहण समारोहमा उत्साहका साथ उपस्थित भएका सांसदहरूले जनपक्षीय कानुन निर्माण र विकासका सवालहरूमा काम गर्ने बताएका छन्।