काठमाडौं। तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ? आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ। अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने त जफत नै हुनेछ।
कसैगरी छलेर मोबाइल भित्र्याउनु भयो भने पनि तपाईंको मोबाइलमा सिम हालेको १५ दिनपछि त्यसबाट फोन/म्यासेज गर्न मिल्ने छैन। १५ पुस अर्थात् आगामी शुक्रबारदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु हुने भएकाले विमानस्थलको भन्सार जाँचपासमा कडाइ गरिंदैछ।
विमानस्थल भन्सार कार्यालयहरूले अहिलेसम्म विदेशबाट फर्किनेले प्रयोग गरिरहेको बाहेक अतिरिक्त एउटा मोबाइल सजिलै ल्याउन दिइरहेका छन् । तर, आगामी शुक्रबारदेखि भने विदेशबाट फर्किने यात्रुले विमानस्थलको भन्सार बिन्दुमा प्रयोग गरिहरेको मोबाइल ‘आफ्नो प्रयोगका लागि हो’ भन्ने घोषणा गर्नुपर्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बताउँछन्। त्यसका आधारमा भन्सारले विदेशबाट झिटिगुन्टा सुविधामा आाएको मोबाइल हो’ भन्ने प्रमाणित गरेर कुनै शुल्क नलिई प्रज्ञापनपत्र दिने छ। यो प्रक्रियाका लागि अब भन्सार विन्दुमा पनि लाइन बस्नुपर्नेछ। दैनिक ५ सयभन्दा बढी मोबाइलको प्रज्ञापनपत्र जारी गर्नुपर्ने अनुमान गरिएको पोखरेलले बताए। यसरी जारी हुने प्रज्ञापनपत्रका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता गरेर मात्रै सो मोबाइल चलाउन सकिने छ।
तर, यात्रुसँग दोस्रो मोबाइल छ भने किनेको बिल देखाएर तोकिएको दरमा भन्सार राजस्व बुझाउनुपर्नेछ। भन्सार राजस्व तिरेपछि मात्रै सो मोबाइलको प्रज्ञापनपत्र लिन पाइनेछ। सो प्रज्ञापनपत्र नलिएमा उक्त मोबाइल नेपालमा चल्ने गरी दर्ता गर्न नै पाइनेछैन।