जुम्ला। जुम्लाको सिंजा गाउँपालिका ३ मा अवस्थित पुल गाडी गुड्न नपाउँदै भत्किएको छ।
गत असोज महिनामा परेको अविरल वर्षासँगै आएको बाढीले पुल बगाउन नसके पनि क्षत विक्षत बनाएको थियो। अहिले न मर्मत गरेर सञ्चालन गर्न मिल्छ, न त भत्काएर नयाँ पुल नै बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए।
उनले भने ‘बाढीले पुल भत्काउँदा निकै ठुलो समस्या छ। उक्त हिमा नदीमाथि ५२ लाख रुपैयाँको लागतमा बनेको हो। पुल बाढीले भत्काएपछि सवारी आवागमन ठप्प बनेको छ। गाउँपालिका केन्द्र नराकोटदेखि नाग्म गमगढी सडक जोड्ने उक्त पुलले सिंजा–२ लाई समेत यातायातसँग जोडेको थियो। पुल काम नलाग्ने भइसकेको छ। स्थानीय पुल हेरेर काठको फड्के तरेर वारपार गरिरहेका छन्।’
गाउँपालिकाले पुल बनाउनका लागि ५२ लाख रुपैयाँ खर्चेको थियो। ढुक्कसँग पुलमा मोटर चढेर वारपार गर्ने सिंजालीको सपना पूरा हुन नसकेको सिंजा२ का पूर्व वडाध्यक्ष नवीन शर्माले बताए। उनले भने, ‘बाढीले पुल बगाउन सकेन मर्मत गरेर पनि सञ्चालन हुन सक्ने अवस्था छैन।’ पुल वरिपरिको सबै जमिन कटान गरेर लगिसकेको उनले जनाए।
‘पुलमा भर्खर भर्खरै गाडी गुड्न सुरु भएको थियो। बाढीले पुलमा गाडी चल्ने स्थानीयको सपना तुहाइदिएको छ। हिमा नदीमा पुल नहुँदा स्थानीयले डेढ दुई घण्टा हिँडेर वारपार गर्नुपर्ने अवस्था छ’ उनले भने।
नदी आसपासको सबै जमिन कटान गरेर लगेको छ। जस कारण खेतीयोग्य जमिन समेत रहेन। पुलले सबै सिंजालाई जोड्ने लक्ष्य थियो। गाउँ बस्ती र वडासम्म पुग्न सहज हुन्थ्यो। विकास निर्माणको अनुगमन गर्नदेखि जनताको सेवा घरदैलोसम्म छिटोछरितो भइरहेको थियो। सुर्खेत नेपालगन्ज हुँदै मुगुको रारा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पालिका केन्द्रसम्म आइपुग्न सहज होस् भन्ने हिसाबले पुल बनेको थियो। पालिकासँगै जोडिएको जीर्ण पुलले हरेक दिन झस्काउने गरेको कर्मचारीहरू बताइरहेका छन्।
बाढीले भत्काएको पुल पूर्ण रुपमा भत्काएर राम्रो पक्की पुल बनाउनुपर्ने स्थानीयको माग छ, पालिकाले पहिल्यै सोच, विचार गरेर पुल बनाइदिएको भए शायद पुलको यस्तो हबिगत नहुने स्थानीय कमल बुढाको भनाइ छ।
अघिल्लो सरकारको गैर जिम्मेवारीले पुल भत्किएको सिंजा गाउँपालिकाले आरोप छ। गाउँपालिका जनप्रतिनिधिहरू भन्छन् ‘इन्जिनियरलाई एक पटक सोध्छौँ, मर्मत हुनेजस्तो देखिँदैन। अब पक्की पुल बनाउने तयारीमा छौं।’
आफ्नो कार्यकालमा अघिल्लो सरकारजस्तो कच्ची काम नहुने अहिलेका जनप्रतिनिधिको प्रष्ट पारेका छन्।