सुर्खेत: प्रदेशसभाको दोस्रो कार्यकालका लागि सदस्यहरू निर्वाचित भइसकेका छन् । कर्णाली प्रदेशसभामा ४० जना सदस्य रहन्छन्। उनीहरूले विभिन्न शीर्षकमा सेवा–सुविधा पाउँछन्। उनीहरूको सुविधामै ठूलो रकम खर्च हुने गरेको छ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन–२०७५ मा पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधाबारे व्यवस्था गरिएको छ। कर्णाली प्रदेशसभामा एक जना सभामुख, एक जना उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्ष दलको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक, दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक रहने व्यवस्था छ। उनीहरूले मासिक पारिश्रमिकदेखि स्वकीय सचिवसम्म राख्न पाउने व्यवस्था छ। त्यस्तै, ती पदाधिकारीलाई सञ्चार सुविधा, अतिथि सत्कार, बैठक भत्ता, आवास सुविधा, फर्निचर, दैनिक भ्रमण भत्ता र वैदेशिक भ्रमण भत्ताको सुविधा दिइन्छ।
पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिकबाहेक अन्य सेवा–सुविधाहरू पनि ऐनमा तोकिएको छ। सभामुखको पारिश्रमिक मात्रै मासिक ६१ हजार चार सय ८० रूपैयाँ छ। त्यस्तै, उपसभामुख र विपक्षी दलको नेताले पारिश्रमिक वापत मासिक ५८/५८ हजार रूपैयाँ पाउँछन् । सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र संसदीय दलको अध्यक्षको पारिश्रमिक ५६ हजार आठ सय ४० तोकिएको छ।
दलको प्रमुख सचेतक र सत्ता पक्षको सचेतक तथा विपक्षी दलको सचेतकको ५४ हजार पाँच सय २० रूपैयाँ मासिक पारिश्रमिक छ। प्रदेशसभा सदस्यहरूले हरेक महिना ५२ हजार ६ सय रूपैयाँ पारिश्रमिक पाउँछन्। प्रदेशसभा सदस्यहरूलाई पनि एक जना नायव सुब्बास्तरको स्वकीय राख्न पाउने सुविधा छ।
गत मंसिरमा सम्पन्न निर्वाचनबाट कर्णाली प्रदेशसभामा पाँच वटा दलको सहभागिता रहेको छ। नेपाली कांग्रेस, नेकपा ‐माओवादी केन्द्र) नेकपा (एमाले), एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसद्मा उपस्थिति रहनेछ। कांग्रेस, माओवादी केन्द्र र एमालेका प्रमुख सचेतक तथा सचेतकहरू रहनेछन् ।
त्यस्तै, प्रदेशसभामा चारवटा विषयगत समिति छन्। ती संसदीय समितिमा चार जना सभापति हुनेछन्। कर्णालीमा प्रदेशसभा सदस्यको पारिश्रमिक तथा अन्य सेवा–सुविधामा वार्षिक करिब ११ करोड हाराहारी खर्च हुने गरेको छ। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले ऐनअनुसार प्रदेशसभा सदस्य तथा पदाधिकारीहरूलाई पारिश्रमिक तथा सेवा–सुविधा उपलब्ध गराइँदै आएको बताए। प्रदेशसभाको पाँच वर्षे पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्यहरू निर्वाचित भइसकेका छन्। अबको केही दिनमा प्रदेशसभा सदस्यको शपथ खुवाएर संसद् बस्नेगरी तयारी थालिएका छन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा–सुविधामा ठूलो रकम खर्च भइरहेको भन्दै आलोचनासमेत हुने गरेको छ।