धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण देवघाट क्षेत्र यसपटक ऐतिहासिक देवघाट महा महोत्सव २०८१ को केन्द्रबिन्दु बनेको छ। पौष २४ देखि माघ मसान्तसम्म आयोजना हुने यस भव्य महोत्सवले धार्मिक पर्यटनको विकास, समाजमा धार्मिक आस्था बलियो बनाउने, र सामाजिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

महोत्सवको मुख्य आकर्षण पौष २७ गते १०८ साधु-सन्तहरूको उपस्थितिमा देवघाट दिव्यधामको शिलान्यास कार्यक्रम हुनेछ। यो परियोजना “देवघाटलाई नेपालकै प्रमुख धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने” परिकल्पना अन्तर्गत अघि बढाइएको छ। कार्यक्रमका १०८ साधु सन्त महन्त पीठाधीश मठाधीश आदिको संयुक्त नेतृत्वमा विशेष धार्मिक विधि अनुसार जग शिला राखी नवरत्न र स्वर्ण अनन्त शेष स्थापना गरिनेछ।

माघ महिनाभरि भक्तजनहरूले १ लाख शीला पूजन, रामनाम लेखन, भजन-कीर्तन, कथा प्रवचन, र विशेष माघ स्नानमा सहभागी हुनेछन्। महोत्सव अवधिभर ३० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। विश्वप्रसिद्ध कथा वाचकहरू, सांस्कृतिक कलाकारहरू, र योग प्रशिक्षकहरूको प्रस्तुति महोत्सवलाई अझ विशेष बनाउनेछ।
महोत्सवसँगै देवघाटमा निर्माणाधीन माता-पिता सेवा आश्रमको पनि विशेष चर्चा छ। ३६५ कोठाको यो विशाल परियोजनाले हजारौं वृद्ध माता-पितालाई सुरक्षित र धार्मिक वातावरणमा आश्रय प्रदान गर्नेछ। पूर्ण रूपमा पत्थरको प्रयोगबाट निर्माण भइरहेको देवघाट दिव्यधामको यो परियोजना नेपालकै सांस्कृतिक गौरवका रूपमा उभिने लक्ष्य राखेको छ।

गण्डकी र त्रिशूली नदीको संगममा अवस्थित देवघाट क्षेत्रलाई विश्वस्तरीय धार्मिक गन्तव्य बनाउने लक्ष्यले आयोजना गरिएको महोत्सवले नेपालमा धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।
आयोजकहरूले सम्पूर्ण श्रद्धालु भक्तजनलाई महोत्सवमा सहभागी भई यो ऐतिहासिक अवसरको लाभ उठाउन आह्वान गरेका छन्। देवघाट महा महोत्सव २०८१, नेपालका लागि धार्मिक र सांस्कृतिक दृष्टिले स्मरणीय उपलब्धि बन्ने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0