म्याग्दी। सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी-दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी-दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका-२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो ।
शुक्रवार साँझ पहिरो खसेको र अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । बेनी नगरपालिका-४,र मङ्गला गाउँपालिका-२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका-६,स्थित बाङ्गे पहिरोमा खसेको पहिरोले पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध भएपछि आवतजावत र ढुवानीमा समेत समस्या भएको स्थानीय श्रीराम पौड्यालले बताउनुभयो । बेनी-दरबाङ सडकमा सिधा यातायात अवरुद्ध हुँदा जिल्लाका धवलागिरि ,मालिका र मङ्गला गाउँपालिका सहित छिमेकी जिल्ला बागलुङको पश्चिम भेगका नागरिकले समेत सास्ती व्यहोर्नु परेकोे छ ।