बर्दीबास। पूर्वपश्चिम लोकमार्गको बर्दीबास ११ स्थित जङ्गली क्षेत्रमा आज विहान विपरित दिशातर्फ जाँदै गरेका दुई वटा सवारीसाधन एकआपसमा ठोक्किँदा २ चालक र सहचालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको बर्दीबास प्रहरीले जनाएको छ।

बर्दीबास बजारदेखि १६ किमी जङ्गली क्षेत्रमा भएको दुर्घटनामा परि घाइतेमध्ये रौतहट चन्द्रपुर नपा २ का २५ वर्षीय ट्रक चालक रमेश चौधरी र २० वर्षिय सहचालक शुभाष महराको अवस्था गम्भिर छ। लालवन्दीको गढीमाई असपतालमा भर्ना गरिएका दुबैको टाउकोको पछिल्लो भाग र बाँया हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै मकवानपुर उप महानगरपालिका १२ का ४२ वर्षे बस चालक सीताराम सुनारलाई बर्दीबासको शुभ स्वस्तिक असपताल भर्ना गरिएको छ। छाती, दाहिने हात र खुट्टामा चोट लागेका चालक सुनारको अवस्था मध्यम रहेको असपताल व्यवस्थापक दीपेन्द्र ढकालले जनाउनुभयो। सोही असपतालमा उपचारार्थ भर्ना गरिएका बसका यात्रीहरु मोरङ सुन्दरहरैचा १२ का २६ वर्षीय खगेन्द्र दहाल, मोरङ सुनवेसी २ की ४६ वर्षिया रुपा ढकाल र बेलवारी ११ की ३८ वर्षिया पूर्णिमा लिम्वुको टाउको खुट्टा र ओठमा चोट लागेको छ। उहाँहरुको अवस्था भने सामान्य रहेको शुभ स्वस्तिक असपतालले जनाएको छ।

घट्नास्थलबाट बर्दीबासस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जनाए अनुसार काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश ०३-००१ ख १६०१ नं को यात्रु बस तथा विपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९५ नं को मालवाहक ट्रक पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बाँके पूल नजिक ठक्कर खाँदा दुर्घटना भएको हो।

प्रहरी नायव उपरीक्षक पोखरेलको कमाण्डमा दुर्घटना स्थल पुगेको ट्रफिक प्रहरीसहितको सुरक्षा टोलीले घाइतेहरुको उद्धार गरि असपताल पुर्याइएको थिए। दुर्घटनाका कारण लोकमार्गको जङ्गली क्षेत्रमा केहीबेर आवागमन अवरुद्ध भए पनि सुरक्षाकर्मीले केही बेरमै सवारी आवागमन सुचारु गराएका थिए।

तत्काल दुर्घटनाको एकिन कारण स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ। तथापि घट्ना प्रकृति तथा तत्काल प्राप्त सङ्केतको आधारमा सहचालकले ट्रक चलाएका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0