अहिलेसम्म तपाईंहरूले एकजनाको परीक्षा अर्कोले दिएको कयौँ घटना सुन्नु भएको हो। एकजना केटाले अर्का केटाको, एकजना केटीले अर्की केटीको नाममा परीक्षा दिएका घटना नौला रहेनन्।
तर भारतको पञ्जावबाट अहिलेसम्मकै रोचक घटना बाहिरिएको छ। एकजना युवकले आफ्नो हुलिया युवतीको जस्तो बनाएर परीक्षा हलमा पुगेका बेला समातिएका छन्।
उनी आफ्नी प्रेमिकाको नाममा परीक्षा दिन पुग्दा अनौठो तरिका अपनाएका थिए। केटाबाट केटीको स्वरुपमा त परिणत भए नै त्यससँगै उनले लुगा पनि प्रेमिकाकै लगाएका थिए।
तर उनको मिहिनेतले काम गरेन, परीक्षा हलमा पुगेपछि उनी प्रहरीको फन्दामा परे। आफ्नी प्रेमिकाको साटो परीक्षा दिन केटीको हुलियामा पुगेका ती युवक अहिले समातिएर प्रहरीको हिरासतमा छन्।
यही ७ जनवरीमा पञ्जावको कोटकपुरास्थित डीएभी पब्लिक स्कुलमा बाबा फरिद विश्वविद्यालय हेल्थ साइन्सेजद्वारा आयोजित स्वास्थ्यकर्मीको भर्ना परीक्षा हुँदै थियो।