काठमाडौं। ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ। २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
फुटपाथ व्यवसायीहरुको अत्याधिक भीड भएका कारण हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको।
‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि ३ सय भन्दा धेरै फुटपाथ व्यवसायी मंगलबजारबाट लगनखेलसम्म आएका छन् । पहिले ५०–६० वटा फुटपाथ व्यवसाय हुने ठाउँमा अहिले ३/४ सय पुगेको छ’, हाछेथुले अनलाइनखबरसँग भने।
उनले मंगलबजारदेखि लगनखेलसम्म सटरमा व्यवसाय गर्ने व्यापारीहरुले आफ्नो पसल अगाडि मासिक २० हजारसम्म लिएर व्यापार गर्न दिएको पाइएको पनि बताए।
‘यहाँका व्यवसायीहरुले आफ्नो पसल अगाडि खाली सार्वजनिक ठाउँ नै किनबेच गरिरहेको पाइएको छ। यसलाई रोक्न पनि महानगरले यो कदम चाल्न बाध्य भएको हो’, हाछेथुले अनलाइनखबरसँग भने।
फुटपाथको कारण सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति भएको भन्दै हाछेथुले थपे, ‘अहिले एम्बुलेन्स, दमकल समेत हिँड्न सक्दैन, मेला जस्तै हुने गरेको छ । त्यसपछि १२ नम्बर वडा र १९ नम्बर वडाले संयूक्त रुपमा मिलेर फुटपाथ निषेधित क्षेत्र बनाउन लागेका हौं।’
ललितपुर महानगरपालिकाले मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर २४ गतेसम्म फुटपाथ व्यापार हटाउन आग्रह गरेको छ।