सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।
बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले गोरखापत्र अनलाईनसँग बताउनुभयो । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताउनुभयो ।
अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ। सदरमुकाम मलङ्गवामा पटक-पटक यसरी फालिएको नवजात शिशुको शव फेला पर्ने गरेको छ।